विवाह पञ्चमीको विशेष तयारी: भारतीय गृहमन्त्री र मुख्यमन्त्रीलाई पनि निम्ताे

 मंसिर ६, २०७६ शुक्रबार १९:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - ऐतिहासिक नगर जनकपुरधाममा प्रत्येक वर्ष मनाइने श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको यस वर्षकाे विशेष तयारी सुरु भएकाे छ ।

मंसिर १५ गते परेकाे मार्ग शुक्ल पञ्चमी अर्थात पञ्चमी महोत्सवमा छिमेकी राष्ट्र भारतको अयोध्याबाट आउने जन्तीसँगै भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमित शाह र उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आउने सम्भावना भएकोले विशेष तयारी थालिएको हो ।

एक साता बाँकी रहेको विवाह पञ्चमीका लागि महोत्सव स्थल जानकी मन्दिर र रंगभूमि मैदानलाई सिंंगार्न कामदारहरुलाई दिनरात खटाइएको छ भने नगर सरसफाइमा समेत तीव्रता दिइएको छ ।

विवाह पञ्चमी महोत्सवमा भारतीय गृहमन्त्री शाह र मुख्यमन्त्री आदित्यनाथलाई निमन्त्रणा गरिएकाे तर आउने नआउने यकिन जानकारी भने आइसकेकाे छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमध्ये एकजना उपस्थित हुने भएकोले सुरक्षासहितका विशेष तयारीकाे पहल भइरहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रत्येक ५ वर्षमा माता सिताको ससुराली अयोध्याबाट ५ सयभन्दा बढी विशेष जन्ती आउने गरेको छ, सोही अनुसार यस वर्ष भारतीय गृहमन्त्री शाह र मुख्यमन्त्री आदित्यनाथसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत आमन्त्रण गरिएको छ ।’

आउँदो मंसिर १० गतेदेखि १६ गतेसम्म मनाइने विवाह पञ्चमी महोत्सवमा सहभागी हुन अयोध्याबाट प्रस्थान गरिसकेका जन्ती मंसिर १२ साँझ जनकपुरधाम आइपुग्नेछ ।

भारतको दरभंगा हुँदै नेपाल प्रवेश गर्ने जन्तीलाई सीमावर्ती क्षेत्र जटहीमा बाजागाजा र विशेष सुरक्षासहित जनकपुरधाम ल्याइने र जनकपुरधाम आइसकेपछि नगर परिक्रमा गराएर वासस्थानमा राखिने छ ।

मंसिर १३ गते श्रीराम मन्दिरमा अयोध्याबाट आएका जन्तीको सहभागितामा तिलकाेत्सव महोत्सवबाट औपचारिक कार्यक्रम सुरु गरिनेछ ।  महोत्सवलाई भव्यता प्रदान गर्न १ सय ५१ वटा मूल समारोह समिति गठन गरिएको छ भने नगरभर विशेष सुरक्षाको व्यवस्था गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम

सप्ताहव्यापी रुपमा मनाइने श्रीराम जानकी विवाह पञ्चमी महोत्सवकाे पहिलो दिन मंसिर १० गते नगर दर्शन तथा दोश्रो दिन जानकी मन्दिरमा रहेकाे मडवामा भगवान श्रीराम र जानकीबीच भएको पहिलो भेटको सम्झनामा फुलबारी लीला सम्पन्न गरिनेछ ।

त्यसैगरी तेश्रो दिन मंसिर १२ गते मन्दिर परिसरमै धनुष यज्ञको आयोजना गरिनेछ, चौथो दिन मंसिर १३ गते भारत अयोध्याबाट आएका जन्तीको सहभागितामा श्रीराम मन्दिरमा तिलकोत्सव, पाँचौ दिन १४ गते जनकपुरधामस्थित गंगा सागरमा मटकोर, छैठौँ दिन १५ गते स्वयंवर र विवाह उत्सव मनाइने छ । 

सातौँ दिन १६ गते रामकलेवा गरी महोसत्व सम्पन्न गरिनेछ ।

यता विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ श्रद्धालुहरुको शौचालय र पानीको व्यवस्थापन सहित नगरको सरसफाइ बारे जनकपुरधाम उपमहानगरपालिकाले समेत तयारी गर्दैछ ।

विशेष सुरक्षा व्यवस्था

महोत्सवमा नेपालसहित भारतबाट आउने श्रद्धालु भक्तजनहरुको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार सादा तथा पोशाक गरी ३ हजार २ सय प्रहरी परिचालन गरिनेछ ।

श्रद्धालुहरुको सुरक्षाको लागि जनपद प्रहरी २३ सय ३०, ट्राफिक प्रहरी १ सय १६ त्यस्तै सशस्त्र प्रहरी ७ सय ८ जना परिचालन गरिनेछ । विशेष सुरक्षा अन्तर्गत गाडी, मोबाइल टोली, पैदल गस्ती, चेक प्वाइन्टमा प्रहरी साथै कुकुर टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएकाे छ ।

त्यस्तै संवेदनशील स्थान पहिचान गरी १ सयभन्दा बढी स्थानमा सीसी क्यामरा जडान गर्ने, जानकी मन्दिरमा सुरक्षा पोस्ट स्थापना गरी २४सै घण्टा सीसीक्यामरा मार्फत निगरानी गरिने पनि उपरीक्षक खनालले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया