कृषि विकास बैंकका शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा : प्रत्येकसँग ३४ करोड बिगो माग

 मंसिर ९, २०७६ सोमबार १८:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाैतमसहित ८ जनाविरुद्ध जनही ३३ कराेड ९३ लाख रुपैयाँ बिगाे माग गरी मुद्दा दायर गरिएकाे आयाेगका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिनुभयाे ।

शाखा अधिकृत केदारप्रसाद गौतमले झुटो विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ । साथै उनी नक्कली नाम तेजबहादुर थापाबाट नागरिकता र राहदानी बनाएर विदेश जाने योजनास्वरुप भारत गएर बसेको पनि अख्तियारले जानकारी दिएको छ ।

यस्तै, बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आर्थिक कारोबार, कर्मचारीको रेखदेख र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी पूरा गर्न नसकेको भन्दै अख्तियारले मुद्धा हालेको हो ।

साथै रकम हिनामिना गर्न गौतमलाई सघाएको आरोपमा सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया