२५ करोड रुपैयाँ बरामद भएको घटनाको विस्तृत अनुसन्धान गर्न सांसदहरूको माग

 चैत ६, २०८१ बुधबार १५:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – सांसदहरूले २५ करोड रुपैयाँभन्दा धेरै विदेशी मुद्रा बरामद भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुन तस्करीजस्ता घटनामा चालक र भरियालाई समात्ने र मुख्य व्यक्तिसम्म नपुग्ने गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद खतिवडाले यसपालि त्यस्तो प्रवृति नदोहोर्‍याउन सरकारलाई सचेत गराउनुभयो ।

त्यस्तै नेकपा एमाले सांसद रघुजी पन्तले पनि सुन तस्करीको घटनामा पञ्चायतकालदेखि मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै सुन तस्करी किन र कसरी भइरहेको छ भन्ने अनुसन्धान गर्नुपर्ने बताउनुभयो । यस्ता घटनामा भरिया र चालक मात्र नभई पर्दा पछाडिका मानिस पक्रनुपर्ने उहाँको भनाइ छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले रकम बरामद भएको घटनाको छानबिनका लागि विशेष समिति बनाउन माग गरेको छ । माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गर्नुभएको छ ।

सोमवार राति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा २५ करोड रुपैयाँभन्दा धेरै विदेशी मुद्रासहित काठमाण्डौबाट पक्राउ परेका थिए । लामाले चलाएको ट्रकमा रकम भेटिएको हो । उनी पाँच वर्षअघि काठमाण्डाैमा सुन बोक्ने भरियाका रूपमा काम गर्ने गरेको खुलेको छ । प्रहरीले यस पटक पनि सुन खरिदका लागि रकम लिएर रसुवाको केरुङ नाकातर्फ जान लागेको निष्कर्ष निकालेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया