'बुर्ज खालिफा'सहित विश्वका अग्ला भवनमा 'नेपाल भ्रमण वर्ष'को प्रचार गरिने

 मंसिर ९, २०७६ सोमबार १९:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले नेपाल भ्रमण वर्षको उद्घाटन भव्य ढंगले गर्ने तयारी गरिहेको छ । 

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको नेपाल भ्रमण वर्षको मूल समारोह समितिको पाँचौ बैठकले २०१९ को डिसेम्बर ३१ तारिख र सन् २०२० को जनवरी १ तारिखको दिन काठमाण्डौमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । 

नेपालमा मात्रै नभएर विदेशमा पनि नेपाल भ्रमण वर्षको लागि प्रचारप्रसार तीव्र बनाउने सरकारी तयारी छ । विदेशका रहेका नेपाली दूतावास र अन्य कुटनीतिक नियोगमा जनवरी ७ तारिखमा नेपाल भ्रमण वर्षको उद्घाटन विशेष कार्यक्रम गरिने भए पनि केही कार्यक्रम भने जनवरी १ तारिखमै गरिने आयोजकले जनाएको छ ।

संविधान दिवसको दिन संयुक्त अरब इमिरेट्समा रहेको संसारकै अग्लो ‘बुर्ज खालिफा’ टावरमा नेपालको झण्डा फहराइएको थियो । अब नेपाल भ्रमण वर्षको उद्घाटनको दिन पनि बुर्ज खालिफासहित संसारका अन्य अग्ला टावरहरुमा भ्रमण वर्षको लोगो राख्ने तयारी भएको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । 

सोमबारको मूल समारोह समितिको बैठकका केही सहभागीले संसारका अग्ला टावरमा प्रचार गर्दा निकै प्रभावकारी हुने सुझाव दिएपछि मन्त्री भट्टराईले यो बारेमा तयारी भैरहेको जानकारी दिनुभएको हो । 

‘यूएईका राजदूतले विशेष पहल गरेपछि संविधान दिवसको दिन बुर्ज खालिफामा निःशुल्क नेपालको झण्डा फहराएको रहेछ,  हामीले अब भ्रमण वर्षको सामग्री पनि त्यसैगरी राख्ने विषयमा सल्लाह गरिरहेका छौँ’, मन्त्री भट्टराईले भन्नुभयो, ‘भ्रमण वर्षमा पनि त्यसैगरी लोगो फहराउनको लागि तयारी गर्न राजदूतलाई भनेका छौँ, यदि मन्त्रालयको सहयोग चाहिएमा हामीले पनि आग्रह गर्छौँ ।’

मन्त्री भट्टराईले गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर संसारका अरु अग्ला टावरहरुमा पनि नेपाल भ्रमण वर्षको सामग्री राख्न सकिने विषयमा छलफल भैरहेको बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया