उपचुनाव : ६५ प्रतिशत मत खस्यो, कतै नतिजा आइसक्यो, कतै मतगणना गर्ने तयारी

 मंसिर १४, २०७६ शनिबार २१:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज भएको उपचुनावमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

कुल मतदाता ४ लाख ५४ हजार १ सय १४ मध्ये २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । ३७ जिल्लाका २ सय ४७ मतदानस्थल र ५ सय ३७ केन्द्रमा उत्साहपूर्वक मतदान भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । आज बेलुका पत्रकार सम्मेलन गरी उहाँले केही ठाउँमा छिटपुट घटनाबाहेक उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको हो । कास्की २ मा प्रतिनिधिसभा, भक्तपुर १(क), बागलुङ २(ख) र दाङ ३(ख) मा प्रदेशसभा सदस्यका लागि मतदान भएको छ ।

कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि झण्डै ६५ प्रतिशत मतदान भएको छ । कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीका अनुसार केही मतदान केन्द्रमा बाहेक शान्तिपूर्ण रुपमा मतदान भएको छ ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि १० स्वतन्त्रसहित २१ जना उम्मेद्वार चुनावी मैदानमा छन् । कास्की क्षेत्र नम्बर २ को मतगणना आजै राति सुरु हुने भएको छ । दलहरुसँगको छलफलपछि राति १० बजेबाट गणना सुरु गर्ने सुवेदीले बताउनुभयो । गणना गर्ने स्थान जिल्ला समन्वय समितिको हलमा सीसी क्यामेरा र तार जाली लगाएर तयार पारिएको पनि उहाँले बताउनुभयो ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा (ख) मा ६८ हजार ७ सय १९ जना मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको छ । प्रदेशसभा सदस्यका लागि भएको चुनावमा ६६ दशमलव ५२ प्रतिशत मत खसेको हो । दाङ क्षेत्र नम्बर ३ को (ख) र घोराही उपमहानगरपालिका १६ मा आज मतदान भएको छ । दाङमा उपचुनाव भएका वडाको मतगणना आजबाट र प्रदेशसभातर्फको गणना भोलि बिहानदेखि सुरु हुने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ ।

बाग्लुङको क्षेत्र नम्बर २ प्रदेश (ख)मा ६३ प्रतिशत मत खसेको छ । अघिल्लो पटक ६५ प्रतिशत मत खसेकोमा उपचुनावमा २ प्रतिशत कम मत खसेको हो । भोलि बिहान सर्वदलिय बैठक बसेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र शर्माले जानकारी दिनुभयो । बाग्लुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई समर्थन गरेको छ । नेपाली कांग्रेसका जित शेरचन पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

भक्तपुर क्षेत्र नम्बर १ प्रदेश (क) मा झण्डै ७१ प्रतिशत मत खसेको छ । ४५ हजार १५ मतदाता रहेको प्रदेशसभा (क) मा ३१ हजार ८ सय ३८ जनाले मत खसालेका जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

भक्तपुर क्षेत्र नम्बर १ प्रदेश (क) मा नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी १९ उम्मेद्वार प्रतिस्पर्धामा छन् । भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्यतु प्राधिकरणमा आजैबाट मतगणना सुरु गर्ने तयारी छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । मतगणनास्थलमा मतपत्रको सुरक्षाका लागि तारजाली र सीसी क्यामरा जडान गरिने पनि उहाँले बताउनुभयो ।

यसैगरी धरान उपमहानगरपालिकाको मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि आजै मतदान भएको छ ।

धरान उपमहानगरपालिकामा ५७ प्रतिशत मत खसेको छ । त्यस्तै महोत्तरीमा ७२ प्रतिशत मत खसेको छ । पाँचथरको फाल्गुनन्दमा ६६ प्रतिशत मत खस्यो । संखुवासभाको मकालु गाउँपालिकामा ५ हजार ७ सय ७४ अर्थात् ६४ दशमलब ५५ प्रतिशत मत खसेको छ । त्यहाँ ९ हजार १ सय मतदाता थिए ।

त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको चुनावमा ८० प्रतिशत मत खसेको छ । ३ हजार ३ सय ८७ मतदाता रहेको खार्पुनाथमा २ हजार ८ सय ६६ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेल बताउनुभयो ।

चिसो मौसममा पनि मतदाताले उत्साहपूर्वक रुपमा हुम्लामा मतदान भएको छ । गत असार ३ गते उपाध्यक्ष सिन्धु हमाल शाहीको जीप दुर्घटनामा निधन भएको थियो । अरु विभिन्न पालीकामा गरी ४३ वडाअध्यक्ष पदमा पनि उपचुनाव भएको छ ।

नतिजा आउने क्रम जारी

रोल्पाको थबाङ गाउँपालिका १ मा नेकपाका जनकबहादुर बुढामगर निर्वाचित हुनुभएको छ । उहाँ १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गर्नुभयो । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको छ ।

आज भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । १ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । थबाङ १ मा वडा सदस्यबाट राजीनामा दिइ स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा विजयी भएको छ । आज भएको उपचुनावमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपबहादुर तामाङले ३ सय १० मत ल्याउनुभयो । ११ सय ९९ मतदाता रहेकोमा ९ सय २४ मत खसेको थियो । यसअघि पुनर्वास नगरपालिका ३ मा तत्कालीन एमालेका उम्मेदवार फैरु तामाङ विजयी हुनुभएको थियो ।

यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका ५ मा नेकपाका धर्मे बुढाथोकी विजयी हुनुभएको छ । उहाँ ७ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर बोहराले २ सय ५१ मत प्राप्त गर्नुभयो ।

उपचुनावमा दुई मन्त्री मतदाता

उपचुनावमा दुई जना मन्त्रीले वडाअध्यक्षका लागि मतदान गर्नुभएको छ । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले पाँचथरको फिदिम नगरपालिका १ मा मतदान गर्नुभयो ।

यस्तै खानेपानी मन्त्री बिना मगरले पनि कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा पुगेर मत खसाल्नुभयो । 

केही ठाउँमा बम विस्फोट

उपचुनाव भएका केही क्षेत्रमा बम विस्फोट र शंकास्पद बस्तु पनि भेटिएका छन् । कास्की, दाङ र लमजुङमा बम विस्फोट भए पनि अप्रिय घटना भने भएनन् । छिटफूट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

२०७४ को चुनावमा विजयी जनप्रतिनिधिको मृत्यु, राजीनामा, कारबाही र अरु कारणले पद रिक्त भएकाले ५२ ठाउँमा आज मतदान भएको हो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया