जनयुद्धमा भएका राम्रा र नराम्रा घटनाको जिम्मा म लिन्छु : प्रचण्ड

 मंसिर १५, २०७६ आइतबार १४:१२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा र नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताउनु भएको छ ।  

आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा द्वन्द्वकालमा मारिएका तत्कालीन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा भएका सबै घटनाको जिम्मेवारी आफूले लिने बताउनु भएको हो ।  

संक्रमणकालीन न्याय सम्पादन गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाएर तथा द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आफू प्रयासरत रहेको पनि उहाँले बताउनु भयो । माओवादी जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको अध्यक्ष भएको कारणले घटनाको जिम्मेवारी आफूले लिने बताउनु भयो ।

जनयुद्धमा मारिएका भए पनि सबैलाई सम्बोधन हुनेगरी सत्य निरुपण होस् भन्ने पक्षमा आफू रहेको उहाँले प्रस्ट पार्नुभयो । अध्यक्ष दाहालले आफूहरु ब्ल्यांकेट एम्नेस्टिको पक्षमा नरहेको पनि दाबी गर्नुभयो । 

द्वन्द्व पीडितहरुको माग बमोजिम सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको अहिलेको कानुन संसोधनको तयारीमा रहेको र छिट्टै पदाधिकारीहरु नियुक्त हुने पनि अध्यक्ष प्रचण्डले बताउनु भयो ।  

तात्कालीन समयमा राज्य पक्ष वा विद्रोही पक्षबाट भएका जघन्य प्रकृतिका घटनामा दोषी ठहरिनेले कारबाही भोगे मात्रै भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सकिन्छ भन्ने पक्षमा आफू रहेको उहाँले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया