भक्तपुरमा किन गुम्याे नेकपाकाे एक सिट ?

 मंसिर १५, २०७६ आइतबार १८:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली कांग्रेसका तत्कालीन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति कृष्णलाल भँडेल २०७० सालको दोस्रो संविधानसभा चुनावमा भक्तपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्थ्यो । 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पकड रहेको क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग भँडेल पराजित हुनुभयो । 

संविधान सभामा पराजित भँडेल यसपटकको प्रदेश सभा सदस्य पदको उपचुनावमा भने निर्वाचित हुनुभयो । भँडेल निर्वाचित हुँदा गएको चुनावमा विजयी नेकपाले प्रदेश सभामा एक सिट गुमाएको छ । 

२०७० सालसम्मको चुनावमा कांग्रेसको नेमकिपासँग प्रतिस्पर्धा हुन्थ्यो, एमाले तेस्रो दल थियो । तर गएको चुनावमा एमाले पहिलो दल बन्यो, कांग्रेस दोस्रो र नेमकिपा तेस्रो बन्यो । 

यसपटकको चुनावमा फेरि कांग्रेस पहिलो बनेको छ भने नेकपा दोस्रो र नेमकिपा तेस्रो । नेकपाले क्षेत्र नं. १ (क) लाई आफ्नो लालकिल्ला भन्दै आए पनि मतदाताले भने फरक फरक पार्टीलाई छानेर सबै पार्टीको काम गर्ने शैली र प्रतिबद्धतालाई नियालिरहेको दलका नेताहरु नै बताउँछन् । 

नेकपाका जिल्ला अध्यक्ष वचन देउजा राप्रपा संयुक्तको साथ र सहयोगले कांग्रेसले जित सुनिश्चित गरेको दाबी गर्दै नागरिककाेअभिमतको कदर गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नेकपा कमजोर भएको छैन, सबै मत नखस्दा कमजोर जस्तो देखिएको हो, कांग्रेसको पनि खासै भोट बढेको पाएनौँ । राप्रपा संयुक्तले कांग्रेसलाई सघाउँदा कांग्रेसले जितेको हो, आउँदो चुनावमा हामी थप  मेहनतका साथ अगाडि बढ्छौँ ।’

स्थानीय उम्मेदवारलाई टिकट नदि‌‌दा पराजय भोग्नुपरेको भन्ने चर्चा हल्ला मात्रै भएको दाबी गर्दै उहाँले पार्टीले जसलाई टिकट दिए पनि पार्टीको मत एक ढिक्का भएर खसेको बताउनुहुन्छ । 

क्षेत्र नम्बर २ का सांसद एवं नेकपा केन्द्रीय सदस्य महेश बस्नेत माओवादीसँगको पार्टी एकतालाई जनस्तरसम्म मजबुत पार्न नसक्नु र तत्कालीन एमालेलाई भोट दिने स्वतन्त्र मतदाताहरुको मत विभाजित हुँदा यस्तो परिणाम आएको स्वीकार्नु हुन्छ । नेकपाले पराजयको कारण खोज्ने र गम्भीर रुपमा समीक्षा गर्ने उहाँ बताउनुहुन्छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले यो क्षेत्रमा पहिला पनि कांग्रेस कमजोर नरहेको दाबी गर्दै गएको चुनावमा भने पार्टीभित्रको असन्तुष्टिका कारण पराजय भोग्नुपरेको बताउनुभयाे ।  

उहाँ भन्नुहुन्छ, ‘यसपटक घात अन्तर्घात भएन, पार्टी एकढिक्का भयो, त्यसमाथि राप्रपा संयुक्तसँग पनि सहमति बन्यो र राप्रपा संयुक्तको भोट पनि थपिएपछि सहज जित सुनिश्चित भएको हो ।’ कांग्रेसले अब काम गरेर देखाउने र यो क्षेत्रलाई आफ्नो पकड क्षेत्र बनाउने उहाँले दाबी गर्नुभयो ।  

राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्र प्रताप शाहले प्रजातान्त्रिक शक्तिहरु एक भएर जाने अभियान स्वरुप आफ्नो पार्टीको उम्मेदवार नभएको अवस्थामा कांग्रेससँग समझदारी गरेर उपचुनावमा कांग्रेस लाई सघाएको बताउनुहुन्छ । यस क्षेत्रमा राप्रपा संयुक्तसँग पनि राम्रो भोट रहेको भन्दै उहाँले अब कांग्रेस र राप्रपा संयुक्त मिलेर काम गर्ने बताउनु भयो । 

भक्तपुरका राजनीतिक विश्लेषकहरु भने चाँगुनारायण नगरपालिकाले मतदाताको मन जित्नेगरी काम गर्न नसक्नु, नगरकोट सडक अलपत्र बन्नु र स्थानीयवासीले टिकट नपाउनुले नेकपालाई असर परेको दाबी गर्छन् । 

कांग्रेस उम्मेदवार भँडेल स्थानीयवासी भएकाले मतदाताले रुचाएको र नेकपाका उम्मेदवार डीपी ढकाल जनयुद्धपछि शान्ति प्रक्रियामा आएयता भक्तपुरमा बसेर राजनीति गरे पनि स्थानीयवासी नभएका कारणले त्यसको असर पनि उपचुनावमा परेको विश्लेषकहरु बताउँछन् । 

उपचुनावमा १३ हजार ४ सय ४९ मतका साथ निर्वाचित भँडेलका निकटतम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले भने ११ हजार २ सय ६ मतमै चित्त बुझाउनु पर्‍याे । ५०० देखि १००० मतको अन्तर हुन्छ भन्ने दलका नेताहरुको अनुमानलाई चिर्दै २ हजार २ सय ४३ मतको अन्तरमा भँडेल निर्वाचित हुनुभयो । 

४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा ३२ हजार ३७ मतदाताले मात्र मतदान गरे भने १२ हजार ९७८ मतदाता मत खसाल्नै गएनन् ।  मत खसाल्न नआउने मतदातामध्ये धेरै नेकपाकै मतदाता रहेको आँकलन गरिएको छ । 

२०५१ सालमा वडाध्यक्ष, २०५४ सालमा तत्कालीन चाँगुनारायण गाविस अध्यक्ष र २०७० सालमा संविधान सभा निर्वाचनमा पराजय भोग्नुभएका भँडेलको राजनीतिक यात्रा सकियो भन्नेहरुलाई उहाँले गतिलो जवाफ दिनुभएको छ । 

यो उपचुनावमा नेमकिपालाई पनि आफ्नो मत सुरक्षित गर्न निकै चुनौती थपिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया