निर्माण सम्पन्न भएको १३ महिनापछि मौसमी राडारको उद्घाटन

 मंसिर १८, २०७६ बुधबार ७:१०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – निर्माण सम्पन्न भएको १३ महिनापछि मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ । सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभयो । 

मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा मौसमी राडार स्थापना गर्ने योजना अनुसार पश्चिम नेपालको मौसमको पूर्व सूचना लिने गरी सुर्खेतमा पहिलो पटक राडार सञ्चालनमा ल्याएको हो । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्छ । 

यसले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।     

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक एवं जलवायु प्रकोप समुत्थान निर्माण आयोजना प्रमुख जगदीश्वर कर्माचार्यले पानीको विश्लेषण गर्न सकिने हुँदा हवाई उड्डयनका लागि पनि राडार उपर्युक्त मानिएको बताउनुभयो । उहाँले अहिले अनुमानित मौसमी विश्लेषण हुँदै आएकोमा राडारबाट वास्तविक सूचना पाउन सकिने बताउनुभयो । 

विसं २०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडारको उद्घाटन हुन सकेको थिएन । यसअघि राडारबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेशन (सीईसी)ले सङ्कलन गर्दै आएको थियो । यही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया शुरुआत भएको हो । राडार रातानाङला समुद्री सतहबाट दुई हजार २४४ मिटर उचाइमा अवस्थित छ । 

सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाण्डौबाट सङ्कलन गरिनेछ । विभागका उपमहानिर्देशक कर्माचार्यले सङ्कलित सूचना प्रवाह तथा अन्य विषयमा समन्वय भने सुर्खेतमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले गर्ने जानकारी दिनुभयो । 

राडार मौसमसम्बन्धी जानकारी दिने विद्युतीय प्रणाली हो । सुर्खेतमा जडान गरिएको राडारको क्षमता ४०० किलोमिटर वरपरसम्मको मौसमको बारेमा जानकारी दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा राख्न प्रस्ताव गरेको मौसमसम्बन्धी सूचना दिने प्रणालीमध्येको सुर्खेतमा जडान गरिएको यो राडार पहिलो चरणको हो । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार विभिन्न चरणमा जडान गर्नेगरी गरिएको प्रस्तावअनुसार पहिलो चरणको सुर्खेतको रातानाङ्लामा जडान भइसकेको छ । दोस्रो चरण पाल्पाको रिब्दीकोट र तेस्रो चरणमा उदयपुरको उदयपुरगढीमा राडार जडान गर्ने तयारी छ ।

विश्व बैंकको सहयोगमा १७ करोड रुपैयाँ लागतमा जडान गरिएको सुर्खेतको मौसमी राडारले कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४०० किलोमिटर दूरीसम्मको मौसमको पूर्वसूचना दिनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया