‘मेराे गाउँ, मेराे ठाउँ’ भिडियो प्रतियोगिता सुरु

 मंसिर २२, २०७६ आइतबार १२:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर ‘वि विल राइज फाउण्डेसन’ले यस वर्ष पनि ‘मेराे गाउँ, मेराे ठाउँ’ भिडियो च्यालेन्ज प्रतियाेगिताकाे दोस्रो सिजनको कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने उद्देश्यले फाउण्डेसनले नेपाल पर्यटन बोर्ड र गैर आवासीय नेपाली संघसँगको सहकार्यमा कार्यक्रमको घोषणा गरेको हो ।गाउँमा प्राकृतिक, कला, सांस्कृतिक लगायत पर्यटकीय क्षेत्रको जो कोहीले पनि भिडियो तयार पारेर प्रतियोगितामा सहभागि हुन सक्नेछन् । भिडियो नेपालकै हुनु पर्ने प्रावधान रहेको छ । 

प्रतियोगिताको पुरस्कार राशी गएको वर्ष कुल १ लाख रुपैयाँ रहेकोमा यस वर्ष २५ लाख पुग्ने भएको छ । १ लाख पुरस्कार राशी गुणस्तरीय भिडियो उत्पादनका लागि कम हुने भएकाले यस वर्ष पुरस्कार राशी वृद्धि गरिएको आयोजक ‘वि विल राइज’का संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० का संयोजक तथा चर्चित उद्योगी सुरज वैद्यले भिडियो च्यालेञ्ज प्रतियोगिताले नेपालका नयाँ पर्यटकीय गन्तव्य तथा सुन्दरता विश्वसामु सार्वजनिक गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । आयोजकले २० लाखको पुरस्कार राशीको घोषणा गरेकोमा त्यसमा आफूहरुले ५ लाख रुपैयाँ थप प्रदान गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ ।  

आयोजकका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग रहेको स्मार्टफोनको एचडी क्वालिटीमा भिडियो खिचेरसमेत सहभागिता जनाउन सक्नेछन् । भिडियो अधिकतम ५ मिनेटको हुनु पर्ने छ । 

भिडियो निर्माताले आफूलाई मन परेको विषयमा फाउडेसनको आधिकारिक वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर जानकारी गराउनु पर्नेछ ।

चयन भएका उत्कृष्ट भिडियोहरुलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने छ । यसमा सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाइस एवार्ड’ प्रदान गरिने छ । 

निर्णायक समितिले उत्कृष्ट भिडियोको चयन गर्दै मेरो गाउँ मेरो ठाउँ ’भिडियो अफ दि इयर’ को घोषणा पनि गर्ने छन् ।  

दोश्रो सिजनमा सहभागिताका लागि जान्नैपर्ने कुराहरु :
१) ‘मेरो गाउँ मेरो ठाउँ, भिडियो च्यालेन्ज २०१९ डिसेम्बर १ (२०७६ मंसिर १५) देखि १०० दिनसम्म  सञ्चालन हुनेछ ।  निर्माताहरुले २०१९ डिसेम्बर १ (२०७६ मंसिर १५) देखि २०२० मार्च ९ (२०७६ फाल्गुन २६) तारिखसम्म भिडियो समावेश गरिसक्नु पर्नेछ ।

२) भिडियो च्यालेन्जमा सहभागी हुने भिडियो नेपाल भित्रै छायांकन गरिएको हुनु पर्नेछ ।

३) भिडियो च्यालेन्जमा एकल, समूहगत वा संस्थागत रुपमासहभागि हुन सकिनेछ ।

४) फरक–फरक बिषयवस्तु समेटेर एकै ब्यक्ति, संस्था वासमूहले एक वा सो भन्दा बढी भिडियो समेत प्रतियोगितामा समावेश गर्नसक्नेछन् ।

५) सहभागी भिडियोको गुणस्तर न्यूनतम फुल एचडी १९२०x१०८० पिक्सेल हुनुपर्नेछ ।

६। प्रतियोगितामा सहभागि भिडियोको सर्वाधिकार निर्माण गर्ने ब्यक्ति, समूह वा संस्थाकै हुनुपर्नेछ । यदी दोस्रो पक्ष सँगको समझदारीमा श्रब्य, दृष्य र संगित  समावेश गरेको भए दुबै पक्षबीच भएको संझौता पत्र समावेश गर्नु पर्नेछ । भिडियोमाथि कसैको प्रतिलिपि अधिकार दाबी भए सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्नेछ । अवैध ढंगले समावेश भिडियो स्वतः अयोग्य ठहर हुनेछ ।

७) भिडियो निर्माता व्यक्ति, समूह र संस्थाले भिडियोमा समावेश गर्ने श्रव्य, दृष्य र संगीत आफैँले उत्पादन गरेको वा कपिराइट नलाग्ने हुनुपर्नेछ ।

८) भिडियो निर्माता व्यक्ति, समूह र संस्थाले आफूले भिडियो निर्माण गर्दा सहभागी भएका सबै व्यक्ति, प्राविधिकहरुको जानकारी भिडियोको अन्तमा राखिने क्रेडिट लाइनमा समावेश गर्नुपर्नेछ ।

९) भिडियो प्रतियोगितामा समावेश भएका भिडियोहरुलाई वि विल राइज फाउण्डेसनको स्वतन्त्र निर्णायक चयन समितिले पुरस्कारका लागि सिफारिस गर्नेछ ।

१०) बिषयगत र विधागत रुपमा पुरस्कृत भएको भिडियोलाई पूर्व घोषणा अनुसार नगद पुरस्कार प्रदान गरिनेछ । यसरी घोषणा गर्दा एउटै भिडियोले बढी पुरस्कार पनि पाउन सक्नेछन ।

११) नेपालको ब्यक्तिगत, धार्मिक र सामाजिक सहिष्णुतामा खलल पार्ने किसिमले निर्माण गरिएको भिडियोलाई प्रतियोगितामा समावेश गरिने छैन ।

१२) प्रतियोगितामा सहभागि भएका भिडियोहरुलाई विभिन्न टेलिभिजन, सामाजिक संजाल फेसबुक, युट्युव च्यानलहरूमार्फत गैरनाफामुलक ढंगले प्रचार प्रसारका लागि प्रयोगमा ल्याईनेछ ।

१३) प्रतियोगितामा सहभागि भएर नोमिनेसनमा परेका भिडियोहरुको सर्वाधिकार विजेता घोषणा भएको मितिबाट सुरू हुनेगरी दुईवर्ष वी विल राईज फाउण्डेसनमै निहित रहनेछ । युट्युब च्यानल, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट भएको आम्दानी फाउण्डेसनले सामाजिक कल्याणकारी कार्यमा खर्च गर्नेछ ।

१४) दुई वर्षको अवधिभित्र निर्माताले उक्त भिडियो वा भिडियोको कुनै अंश प्रयोग गर्नुपरेमा फाउण्डेशनको स्वीकृति अनिवार्य लिनुपर्नेछ ।
 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया