भत्किन थाले छाउघर, प्रथा हटेपछि महिलामा खुशी

 पुस १९, २०७६ शनिबार ११:०:२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – अझै पनि सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा छाउपडी प्रथा व्याप्त छ । महिनावारीको समयमा घरको आँगनसम्म छुन नमिल्ने, घरभन्दा झण्डै ६/७ सय मिटर टाढा बसेर खानपिन गर्नु पर्ने प्रथा रहिआएको छ । 

सुत्केरी हुँदासमेत परम्पराका नाममा छाउगोठमा सुत्नु पर्ने, बच्चा जन्माउन तालिम र अनुभव बिनाका महिलाहरुको भर पर्नुपर्ने जस्ता बाध्यता छाउपडी प्रथाले समेटेको छ ।  यो प्रथाका कारण अहिले पनि बझाङका थुप्रै ग्रामीण बस्तीमा आमा र बच्चाले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।

छाउडी प्रथाकै कारण केही वर्षअघि सुनकोटीकी लक्ष्मी (लछी) देवी रावलले अकालमा ज्यान गुमाइन् । १८ वर्षकै उमेरमा वैवाहिक जीवन सम्हालेकी रावल कलिलै उमेरमा आमा बनिन् । नयाँ सदस्य थपिने खुशी परिवारमा छायो । तर, सुत्केरी ब्यथाको पीडामा रहेकी रावललाई अस्पताल वा स्वाथ्यचौकी हैन्, छाउगोठमा राखियो । अनुभव र तालिम बिनाका सुँडेनी (सुत्केरी हुँदा सहयोग गर्ने महिला) को भरमा सुत्केरी गराइयो । 

रावलले छोरा जन्माइन् । घरपरिवारमा खुशीयाली छायो । तर, त्यो खुशी लामो समय टिक्न सकेन । उनको लगातार रगत बगिरह्यो । रातको चिसो, छाउगोठको बसाई त्यसमा पनि लगातारको रक्तश्रावका कारण उनको ज्यान गयो ।

झण्डै आठ वर्षअघि तत्कालीन मोटेला गाविसकी अर्की महिलाले पनि ज्यान गुमाउनु परेको थियो । महिनावारीको समयमा छाउगोठमा सुतिरहेको बेला सर्पले टोक्दा उनको ज्यान गएको थियो । यी त प्रतिनिधि घटना मात्रै हुन् । छाउपडी प्रथाका कारण धेरै महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ । कतिपय महिलाहरु त बलात्कृत हुनु परेको छ । 

छाउगोठका कारण लगातार यस्ता घटना दोहोरिन थालेपछि सुनकोटीका स्थानीय छाउविरुद्धको अभियानमा लागेका छन् । लक्ष्मीदेवी रावलका श्रीमान धनबहादुर रावल भन्नुहुन्छ ‘पहिले भन्दा सुनकोटीमा अहिले आकाश–पातालको फरक आएको छ । छाउ गोेठमा बस्ने महिलाहरु आफ्नै घरमा बस्न थालेका छन् । सायद, पहिल्यै प्रथा हटेको भए मेरो श्रीमतीको अकालमा ज्यान जाने थिएन ।’ अहिले, सुनकोटीका महिलाहरुले नै छाउगोठ भत्काएका छन् । 

महिनावारी भएको समयमा खानु हुँदैन भन्नेहरु पनि अहिले मही, दही तथा गोरुष खान थालेका छन् । छाउ भएको समयमा घरभित्र बस्न पाएको खुसी साट्दै स्थानीय चाँदनी बम भन्नुहुन्छ ‘छाउगोठको बिरोधमा सबै महिलाहरु लाग्नु भएको छ । महिनावारीको समयमा घरभित्र बस्न पाइन्छ भन्ने सपनामा पनि सोचेका थिएनौँ  । तर, अहिले घरमा नै ढुक्क भएर बस्छौँ ।’ 

सुनकोटीमा मात्रै नभई बुंगल नगरपालिकामासमेत महिनावारी भएको समयमा महिलाहरु घर भित्रै बस्ने गरेका छन् । सुदुरपश्चिम प्रदेशमा नै पहिलो पटक बझाङको बुंगल नगरपालिकालाई छाउगोठमुक्त घोषणा गरिएको छ । 

छाउगोठ भत्काउँदै प्रशासन 

विशेषत, महिलाहरु यो प्रथाविरुद्ध सक्रिय रुपमा लागि परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउने अभियानलाई प्राथमिकताकासाथ अगाडी बढाएको छ । गएकाे सोमबारबाट प्रशासनले छाउगोठ भत्काउन सुरु गरेको छ । 

पालिकासँग समन्वयगरी छाउ गोठ भत्काउने अभियान तीव्र रुपमाअघि बढाइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर बमले बताउनु भयो । प्रहरीले दुई दिनको अवधिमा विभिन्न गाउँका ७ वटा छाउघर भत्काइ सकेको छ ।

थलारा, मटेला, दुर्गाथली लगायतका ठाउँमा छाउघर भत्काएको र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा छाउघर भत्काउन ताकेता गरिएको डिएसपी बमले जानकारी दिनुभयो । हालसम्ममा थलारा गाँउपालिकामा तीन वटा, मष्टा र दुर्गाथली गाँउपालिकामा एक वटा र छविस पाथीभेराका मोटेलामा दुई वटा छाउगोठ भत्काइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले छाउपडी गोठमा बस्ने र बस्न लगाउने जो कोहीलाई तीन महिना कैद वा तीन हजार जरिवाना गरिने बताउनुभयो । छाउपडी प्रथा अवलम्बन गर्ने जो कोहीलाई कानुन अनुसार कारबाही गर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया