१५ हजारभन्दा धेरै छोरीका ‘बा’ : नातिनी, आमा र हजुरआमा एकै ठाउँमा !

 पुस २६, २०७६ शनिबार १०:४७:१० | दीपा तिमल्सिना
unn.prixa.net

तपाईंलाई साढे १५ हजार छोरीले बा भन्दा कस्तो लाग्छ ?
ललितपुर जाउलाखेलका ६२ वर्षीय श्याम थापाले मुस्कुराउँदै भन्नुभयो, ‘असाध्यै खुशी लाग्छ । कहिलेकाहीँ त रुन पनि मन लाग्छ । कोहीले मलाई बा भन्छन्, कोहीले बुवा भन्छन् अनि कोहीले बाउ ।’ 

‘छोरीका लागि छोरी अभियान’ चलाएपछि श्याम थापा सबैका बा हुनुभएको हो । उहाँका छोरीहरु सानादेखि आफ्नै उमेरसम्मका छन् । नातिनीदेखि हजुरआमासम्मका उमेर भएका सबै जनाको बा हुनुहुन्छ, श्याम थापा ।

श्यामका साढे १५ हजार छोरीमध्ये एक हुनुहुन्छ, तनहुँकी ५६ वर्षीया यमुना श्रेष्ठ । उहाँको जोश जाँगर भने २६ वर्षको जस्तै छ । सामाजिक काममा उत्तिकै सक्रिय । बेलिबिस्तार लगाउँदै श्रेष्ठ सुनाउनुहुन्छ, ‘आँखा दान गरें, रगत दान गरिरहन्छु ।’ 
उहाँले यति भन्न नभ्याउँदै सँगै उभिएका साथीहरुले थपे, ‘रक्तदान गर्न नपाए रुन्छु पनि भन्नु न ।’ त्यसपछि सबै जना गलल्ल हाँसे । 

कैलालीकी १७ वर्षीया यशोदा देवकोटालाई सामाजिक अभियानबारे खासै धेरै थाहा छैन । तर पनि देवकोटा समय निकालेर बुझ्ने प्रयास गर्नुहुन्छ । त्यसैले उहाँ ‘छोरीका लागि छोरी नै अभियान’ मा सक्रियता देखाउनु हुन्छ । यमुना श्रेष्ठ जस्ता धेरै अग्रज यो अभियानमा सक्रिय भएकाले उहाँ पनि आबद्ध हुनुभयो । आफ्नै लागि र आफूजस्तै अरुका लागि केही गर्न ।

छोटो अवधिमा साढे १५ हजार भन्दा धेरै छोरी आबद्ध भएका छन्, सबै फेसबुकमार्फत ।

छोरीका लागि छोरी नै अभियानमा १७ वर्षकी देवकोटा र ५६ वर्षकी यमुना श्रेष्ठ एउटै समूहमा छन् । यो अभियानमा उमेरको कुनै हद छैन न कर नै छ । 

फरक पृष्ठभूमि, संस्कृति र रीतिथिति भए पनि यी सबै छोरीलाई एउटै मालामा उन्ने काम श्याम थापाले नै गर्नुभयो र गर्दै हुनुहुन्छ । पूर्व – पश्चिमदेखि उत्तर –दक्षिण सबै छोरीलाई उहाँ एकै ठाउँमा समेट्ने प्रयासमा हुनुहुन्छ – त्यो पनि सामाजिक सञ्जाल फेसबुकमार्फत । 

‘हिजोआज सामाजिक सञ्जालको दुरुपयोग धेरै भएको छ, तर यसको सही सदुपयोग गर्न सक्यौँ भने यसका धेरै फाइदा छन्, यसले हामी सबैलाई एकै बनाउन मद्दत गर्छ’ थापाले भन्नुभयो । 

डेढ वर्षअघि मात्रै हो उहाँले छोरीका लागि छोरी नै अभियान सुरु गर्नु भएको हो । यो छोटो अवधिमा साढे १५ हजार भन्दा धेरै छोरी आबद्ध भएका छन्, सबै फेसबुकमार्फत ।

बिरामी श्रीमतीको स्याहार गर्दाको अनुभवले जन्माएको अभियान

रक्तअल्पताका कारण थलिएकी श्रीमतीको बाँच्ने आधार डाक्टरले कमै देखाए । तर थापा १० वर्षसम्म श्रीमतीको स्याहारमा जुट्नुभयो । त्यति नै बेला उहाँलाई लाग्यो – ललितपुर जस्तो शहरमा बिरामी भएकी श्रीमतीको यो अवस्था छ, अरुको के होला ?

सेनाका जागिरे थापा बिस्तारै सामाजिक काममा अभ्यस्त हुन थाल्नुभयो । २०४९ सालमा रिटायर्ड भएपछि आफ्नो पुरै समय नै सामाजिक काममा दिनुभयो । श्रीमतीको स्याहार गर्दै गर्दा उहाँलाई छोरी मान्छेका लागि केही गर्नै पर्छ भन्ने लाग्यो ।

सुरुमा महिला समूह गठन भयो । ललितपुर महानगरपालिका ४ नम्बर वडामा नौ वटा महिला समूह गठन भयो ।  फेरि बाल क्लव गठन गर्नुभयो । सेवा गर्दै गर्दा त्यही बेला अछाममा छाउगोठमा एक किशोरीको जलेर मृत्यु भएको खबर आएपछि उहाँको मन चसक्क भयो ।

अनि २०७३ सालमा सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभयो ‘छाउपडीप्रथा विरुद्ध जनचेतना अभियान’ । तर यो लेखिरहँदा पनि काठमाण्डौ उपत्यकामा जन्मिएका उहाँलाई छाउपडी प्रथाको बारेमा थाहा नै थिएन ।

जब छोरी सक्षम बन्न थाल्छिन्, उनलाई विवाह गरी अर्कैको घर पठाइन्छ, एउटा सामाजिक दायित्व अनि अर्को आफ्नो कर्म पूरा भयो भन्ने सोचाईकै कारण । 

फेसबुकमा लेखेको एउटा स्टाटसले नसोचेको परिणाम दियो । सकारात्मक नतिजा आयो । दुई महिनामा एक लाख २५ हजार रुपैयाँ उठ्यो । उहाँ अछाम जानुभयो । अछामको बयलपाटा, मंगलसेन हुँदै दैलेख र सुर्खेतसम्म उहाँ पुग्नुभयो ।
 
काठमाण्डौ आएपछि उहाँ दोस्रो चरणको अभियान लिएर २०७४ सालमा फेरि अछाम पुग्नुभयो । पहिलो चोटी जाँदा नबोलेका महिलाले दोस्रो अभियानका क्रममा खुलेरै बोले । यसले छोरीकै लागि केही गर्नको उर्जा दियो । 

थापाको बुझाईमा छोरीका लागि आफ्नै घर बाधा छ । आमाबाबुले निकै मेहनत गरेर छोरी हुर्काउँछन्, बढाउँछन् र पढाउँछन् । तर जब छोरी सक्षम बन्न थाल्छिन्, उनलाई विवाह गरी अर्कैको घर पठाइन्छ, एउटा सामाजिक दायित्व अनि अर्को आफ्नो कर्म पूरा भयो भन्ने सोचाईकै कारण । 

यही परिवेश बदल्न पनि सुरु भयो ‘छोरीका लागि छोरी नै अभियान ।’  

हरेक दिन छोरीहरुले एक रुपैयाँ उठाउने

छोरी आफैँ आत्मनिर्भर बन्न सक्छन् । त्यसैले अरुको योगदानमा भन्दा पनि छोरीहरु आफ्नै योगदानमा स्वरोजगार बनुन् भन्ने ध्येय थापाको छ । छोरीका लागि छोरी अभियानमा आबद्ध भएका छोरीहरुले हरेक दिन यो अभियानका लागि एक रुपैयाँ छुट्याउँछन् । डेढ वर्षअघि सुरु भएको अभियानमा अहिले साढे १५ हजार जना छोरीहरु छन्, उनीहरुबाट दैनिक साढे १५ हजार रुपैयाँ नै संकलन हुन्छ ।

अहिले यो रकम संकलन सुरु भईसकेको छैन । अहिले रकम संकलनका लागि अभियान सुरु भएका ठाउँमा कमिटी बनेका छन् । ‘यो कमिटीले कुनै एक दिन तोकेर भेला गर्छ, अनि त्यही भेलामा रकम संकलन हुन्छ’ श्याम थापा भन्नुहुन्छ ‘यो रकम संकलन पछि कमिटीले केन्द्रमा पठाउँछ ।’

यो कमिटीले वार्षिक रुपमा पैसा संकलन गर्छ । अनि यो संकलित रकम छोरीहरुलाई स्वरोजगार बनाउन विभिन्न समूह बनाएर लगानी गरिनेछ । थापाका अनुसार लगानी गरेको व्यवसायमा भएको ७५ प्रतिशत नाफा समूह आफैंले खर्च गर्न पाउनेछ भने २५ प्रतिशत भने अभियानका लागि छुट्टाउनु पर्छ । 

जहाँ आफूलाई आवश्यक नपर्ने कपडा सफा गरी लगेर जोसुकैले पनि राख्न सक्छ । अनि कपडा चाहिने व्यक्तिले पनि आफूले झिकेर कपडा लैजान सक्छ । 

यो अभियानमार्फत विभिन्न सीप सिकाउने र सहुलियत व्याजमा ऋण दिने तयारी पनि भईरहेको थापा बताउनुहुन्छ । त्यसका लागि काभ्रेको भकुण्डेबेंसीमा ५ रोपनी जग्गा भाडामा लिइएको छ । सहुलियतमा व्याजदर दिन गाउँमै सहकारी खोल्ने र त्यसमा छोरीले नै रोजगारी पाउने थापाले बताउनुभयो ।  

छोरीका लागि छोरी अभियान थाल्नुअघि पनि उहाँ समाजसेवा नै सक्रिय हुनुहुन्थ्यो । उहाँले दीनदुःखीलाई सेवा गर्नुका साथै अलपत्र परेकालाई मानव सेवा आश्रम पुर्‍याउनु हुन्थ्यो । 

दुःखी गरीबहरुकै लागि थापाले ललितपुरको जावलाखेलमा कपडा बैंक पनि खोल्नु भएको छ । जहाँ आफूलाई आवश्यक नपर्ने कपडा सफा गरी लगेर जोसुकैले पनि राख्न सक्छ । अनि कपडा चाहिने व्यक्तिले पनि आफूले झिकेर कपडा लैजान सक्छ । 

सैनिक सेवाबाट अवकाश पाएका श्याम थापा ललितपुर जावलाखेलका रैथाने हुनुहुन्छ । विविध भाषा र भेष भएका छोरी एक भएर अंकमाल गर्दा, बा भन्दा उहाँलाई औधी मन पर्छ । छोरीहरुले थापालाई धेरै माया र त्योभन्दा बढी विश्वास गर्छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया