चीनमा फैलिइरहेको भाइरस कति खतरनाक ?

 माघ ६, २०७६ सोमबार १४:३५:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा दुई दिनभित्रमा एक सय ३९ रहस्यमय भाइरसको घटनाहरु रिपोर्ट गरिएको अधिकारीहरुले जनाएका छन् । 

कोरोनाभाइरसको यो नयाँ घटना चीनको वुहान शहर, बेइजिङ र शेनजेन शहरमा पाइएको छ । दुई दिनभित्रमा झण्डै डेढ सय जना सङ्क्रमित भएका हुन् । 

योसँगै चीनमा यो भाइरसबाट प्रभावित हुनेको सङ्ख्या दुई सयभन्दा बढी पुगिसकेको छ । अहिलेसम्म श्वासप्रश्वासमा देखिएको समस्याका कारण तीन जनाको ज्यान गइसकेको पुष्टि भएको छ । 

बेलायती विशेषज्ञहरुले चिनियाँ अधिकारीहरुले भनेको भन्दा धेरै जना यो रहस्यमय भाइरसबाट प्रभावित भएको दाबी गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ठूलोस्तरमा यो भाइरसको जाँच भइरहेकोले यसको प्रकोप बढिरहेको देखिएको छ । 

यो नयाँ कोरोनाभाइरस गएको डिसेम्बर महिनामा पत्ता लागेको थियो । तर अहिले यो भाइरस चीनको सीमा पार गर्दै अर्काे देशसम्म पुगिसकेको छ । थाइल्याण्डमा यो भाइरसको दुई तथा जापानमा एउटा घटना रिपोर्ट गरिएको छ । 

यो भाइरस कति गम्भीर छ ?

कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ । 

एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भाइरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्‍याैँ । याे सामान्य रुघा, खोकीको जस्तो लक्षण देखाउने भाइरस होइन, जुन चिन्ताको कुरा हो ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया