तिब्बतको चाँगाबजारमा रोकिएका १२ नेपाली फिर्ता

नाका बन्द हुँदा खाद्यान्न सङ्कट

 माघ २२, २०७६ बुधबार १४:३५:२६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – चीनको स्वशासित क्षेत्र तिब्बतको चाँगाबजारमा रोकिएका १२ नेपालीहरु १६ दिनपछि नेपाल फर्किएका छन् । 

गएको माघ ५ गतेदेखि सङ्खुवासभाको उत्तरी सीमावर्ती किमाथाङ्का नाकाकाे आवतजावत चिनियाँ प्रशासनले बन्द गरेपछि उनीहरु उतै रोकिएका थिए । चीनमा फैलिएको कोरोना भाइरस नेपालमा नभित्रियोस् भन्ने उद्देश्यले चिनियाँ पक्षले नाका बन्द गरेको थियो ।

स्थानीय प्रशासन र भोटखोला गाउँपालिकाले चिनियाँ प्रशासनसँग कुराकानी गरेपछि मंगलबार उनीहरु आ-आफ्नो घर फर्किएका गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो । तिब्बतमा काम गरिरहेका संखुवासभाका १२ जना र ताप्लेजुङ ओलाङचुङगोलाका २ जना गरी १४ जना चीनमा रोकिएका थिए । कोरोना भाइरसका कारण चिनियाँ प्रशासनले सीमा नाका एक्कासी बन्द गरेकाे थियाे । 

उनीहरुमध्ये संखुवासभाका १२ जना किमाथाङ्का नाकाबाट सकुशल घर फर्किएका छन् भने ताप्लेजुङका २ जना रिदाको बाटो हुँदै ओलाङचुङगोला फर्किएका छन् । अहिले नाकाकाे आवातजावात पूर्ण रुपमा बन्द रहेकाे सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । 

नाका बन्द हुँदा भोटखोलामा खाद्यान्न संकट

नाका अनिश्चितकालका लागि बन्द भएपछि भोटखोला क्षेत्रमा खाद्यान्न संकट देखिएको छ । यस क्षेत्र अन्तर्गतका किमाथाङ्का, चेपुवा, च्याम्ताङ, छुमसुर, थुदाम र रिदाकका करिब एक ५० घरका स्थानीयहरुले चीनको देङदाङ, रियू र चाँगा बजारबाट दैनिक उपभोग्य वस्तु आयात गर्दै आइरहेका छन् ।  

नाका बन्द भएपछि १७ दिनदेखि सामान आपूर्ति बन्द भएको छ । किमाथाङ्काबाट सदरमुकाम खाँदबारी झर्न एक हप्ता लाग्छ। उनीहरु हरेक सामानहरु किनमेल गर्न समेत चीनको तिब्बत बजारमा नै निर्भर हुनुपर्ने अवस्था रहेकाे छ । 

भोटखोला क्षेत्रमा देखिएको खाद्यान्न संकट टार्न गाउँपालिकाले सामान ढुवानी गर्ने निर्णय गरेको भोटखोला गाउँपालिकाको अध्यक्ष भोटेले बताउनुभयो । उहाँले सदरमुकाम खाँदबारीमा दैनिक उपभोग्य चामल, नुन, तेल र दाल लगायतका १५ हजार केजी सामग्री किनेर हेलिकप्टरमार्फत किमाथांका लैजाने तयारी गरिएको जानकारी दिनुभयो । 

खाँदबारीमा सामान खरिद गरेर तुम्लिङ्गटार पुुर्‍याउने र त्यहाँबाट हेलिकप्टरमार्फत किमाथाङ्का लगिदिन जिल्ला प्रशासन कार्यालय, प्रदेश र संघीय सरकार हुँदै गृह मन्त्रालयसँग अनुरोध गरिएकाे भाेटेले बताउनुभयाे । 

हेलिकप्टरमार्फत किमाथाङ्कामा दैनिक उपभोग्य सामान पुर्‍याएर खाँदबारीकै मूल्यमा स्थानीयहरुलाई बिक्री गर्ने उहाँले बताउनुभयाे । भोटखोला गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय संखुवासभालाई सामान ढुवानीका लागि अनुरोध गरेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया