लकडाउनसँगै बझाङको बादी समुदायमा भोकमरी

 चैत २१, २०७६ शुक्रबार १४:५२:१२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको बादी समुदायमा भोकमरी भएको छ । मागेर जीविका चलाउँदै आएका बादी समुदायमा सरकारले लकडाउन गरेसँगै भोक भोकै बस्नु पर्ने अवस्था आएको छ । 

केही दिन अघिसम्म गाँउ घरबाट मागेर जम्मा गरेको खाद्यान्न सकिएपछि आफूहरु भोक भोकै बस्नु परेको सदरमुकाम चैनपुरकी हरिना बादीले बताउनुभयो । दुई छोराछोरीकी आमा हरिनाले दुई दिनदेखि केही पनि नखाएको तर छोरा छोरीलाई भने पल्लो घरबाट मागेर एक छाक खान दिएको बताउनुभयो । 

बजारमा सबै पसलहरु बन्द छन्, गाँउ घरमा जान पाइँदैन । बिहीबार लुकेर एउटा गाउँमा गए पनि गाँउलेहरुले अन्न दिन नमानेपछि रित्तो हात फर्किनुपरेको उहाँले बताउनुभयो ।

‘आफूभन्दा पनि ससना छोरा–छोरीको माया लागेर आउँछ', उहाँले भन्नुभयो, ‘छोरा–छोरी भोक लाग्यो भन्दै कराएको करायै छन् । यहाँको पालिकाले पनि हेरेकोे छैन । सबैले काम गरेर खाउ भन्छन् । यस्तो समयमा काम पनि कस्ले दिन्छ ?’

हरिनाजस्तै यहाँका १४ परिवार बादी समुदायको अवस्था उस्तै रहेको स्थानीय राधा बादीको भनाइ छ । 

१४ परिवारकै उब्जनी गर्ने जग्गा जमिन समेत नरहेको र बर्षौदेखि मागेरै गुजारा चलाउँदै आएकोमा अहिले माग्न जाने समेत ठाँउ नभएका कारण आफूहरु समस्यामा परेको उहाँले बताउनुभयो । 

अहिलेसम्म आफुहरुको अवस्था बुझ्न उद्योग वाणिज्य संघ बझाङको टोली मात्रै पुगेको र टोलीले चामल दिने भनेर गएका अर्की स्थानीय जानु बादीकाे भनाइ छ ।

यता जयपृथ्वी नगरपलिकाका उपप्रमुख जुना जाग्रीले भने नगरपालिकाल राहतका विषयमा केही निर्णय र त्यसका लागि सबै वडाबाट  तथ्यांक संकलन गर्ने काम भैरहेको बताउनु भयो । 

जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दल बहादुर विष्टले भने अहिलेसम्म राहत दिने कार्य नभएको र शनिबारसम्म व्यक्तिगत रुपमा भए पनि राहत उपलब्ध गराउने जानकारी दिनुभयो । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने बादी समुदायका लागि मात्रै नभएर जिल्लाभन्दा बाहिरबाट मजदुरी गर्न आएकालाई समेत नगरपालिकाले राहत दिने तरीकाले काम गर्न आफूहरुले नगरपालिकालाई अनुरोध गरेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया