सीमामा कडाइ नहुँदा जोखिम बढ्यो, काठमाण्डौसहित तराईका जिल्ला 'रेड जोन'मा

 बैशाख ३०, २०७७ मंगलबार १७:३८:१७ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ -  मङ्गलबार एकै दिन ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका सबै तराईका जिल्लाका छन् । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पर्सामा ३९, रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा एक जना सङ्क्रमित भेटिएका हुन् । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय ९१ पुगेको छ ।

देशमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।  तर यी सङ्क्रमितमध्ये धेरै जना लकडाउन सुरु भएपछि नेपाल आएका छन् । भारतसँगको सीमा नाकामा कडाइ गर्न नसक्दा लकडाउनकै अवधिमा झन् जोखिम बढेको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्दप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘लकडाउनलाई हामीले पूर्ण पालना गर्न सकेनौँ । यसमा भएको कमी कमजोरीकै कारण जोखिम बढ्यो । सीमामा कडाइ गर्न नसक्नुले जोखिम भित्रिएको हो ।’

विभागका अनुसार पछिल्लो समय भेटिएका सङ्क्रमतिमध्ये धेरै लकडाउनकै समयमा भारतबाट नेपाल भित्रिएकाहरु हुन् । जसले गर्दा काठमाण्डौ पनि रेड जोनमा परेको छ । यसअघि सरकारले काठमाण्डौलाई सुरक्षित मान्दै आएको थियो । 

बढेन परीक्षणको दायरा 

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई सय नजिक पुग्दा पनि परीक्षणको दायरा बढ्न सकेको छैन । अहिले दैनिक एक हजार जनाको पिसिआर विधिबाट र ३ हजार जनाभन्दा धेरैको आरडिटी विधिमार्फत परिक्षण हुने गरेको महानिर्देशक श्रेष्ठको दाबी छ । 

सरकारले परीक्षणको दायरा किन बढाउन सकेन भन्ने प्रश्नमा श्रेष्ठ भन्नुहुन्छ, ‘प्राविधिक कुरा के हो, त्यो स्वास्थ्य मन्त्रमलयले गर्छ । तीन करोड नेपाली छन् । सबैको एकै दिन परीक्षण गरे सबै सुरक्षित हुने हो ?’ 

उहाँका अनुसार सरकारले अब परीक्षणको दायरा बढाउने छ । अब दैनिक पिसिआर विधिमार्फत ३ हजारभन्दा धेरैको र आरडिटीमार्फत ५ हजारभन्दा धेरैको परीक्षण गरिने उहाँको दाबी छ । 

नेपालमा अहिलेसम्म १७ हजार ८ सय ७८ जनाको मात्रै पिसिआर विधिमार्फत कोरोना भाइरससम्बन्धी परीक्षण भएको छ । श्रेष्ठले राहत वितरणमा सहभागी जनप्रतिनिधि, सफाइ कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायत सबैको पिसिआर विधिबाट परीक्षण गर्न तयारी भएको जानकारी दिनुभयो । 

भारतलगायतका उच्च जोखिमयुक्त क्षेत्रबाट आएकाहरु काठमाण्डौ उपत्यकामा लुकेर बसेको खबर पाएको भन्दै उहाँले उनीहरु सबैको परीक्षण गर्ने र लकडाउनलाई कडाइ गर्ने बताउनुभयो । ‘लकडाउनलाई आन्तरिक रुपमा कडाइ गर्दै जान्छौ । जेठ ५ गतेसम्म केही न केही निकास निस्केला’ श्रेष्ठले भन्नुभयो ।

पर्सामा सङ्क्रमित धेरै

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित प्रदेश २ को पर्सा जिल्लामा देखिएको छ । पर्सामा जम्मा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, कैलालीमा ४, काठमाण्डौ, रौतहट र बारामा ३/३ जना, बाग्लुङ, चितवन र झापामा २, २ जना र बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ र सर्लाहीमा एक/एक जना सङ्क्रमित भेटिएका छन् । 

कोरोना सङ्क्रमित १ सय ९१ जनामध्ये अहिलेसम्म ३३ जना निको भएको मन्त्रालयले जनाएको छ । तर निको भएकामध्ये ३ जनामा कोरोना सङ्क्रमण दोहोरिएको छ । डाक्टरले कोरोना भाइरसको जोखिम बढेकाले सरसफाइसँगै सावधानी अपनाउन आग्रह गर्दै आएको छ । कोरोनाको कुनै खोप वा औषधि बनिनसकेकोले बेला बेलामा साबुनपानीले मिचीमिची हात धुन र व्यक्तिव्यक्तिबीचको भौतिक दूरी कायम राख्न डाक्टरको सुझाव छ ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया