लकडाउन दैनिकी : तन काठमाण्डौमा, मन मेरो गाउँमा

 जेठ ७, २०७७ बुधबार १९:५२:१३ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - विभिन्न अनलाइन हेर्यो, रेडियो सुन्यो, कहिले आशावादी खबर त कहिले निराशा र दुःखका खबर पढ्यो । मन कहिले आशावादी भएर आउँछ, कहिले दुःखले भरिन्छ । आफूलाई यसो केही लेख्न मन लाग्यो भने लेख्यो । लकडाउनमा मेरो दैनिकी यसरी नै बितिरहेको छ । 

मङ्गलबार बिहानै घरबाट बुबाले फोन गर्नुभयो । सामान्य सन्चो बिसन्चोको कुरा भयो । बुबा खेतमा आली ताछ्न जानुभएको रहेछ । ‘यति बिहानै खेतमा जानुभएको बुबा ?,’ मैले सोधेँ । त्यतिबेलासम्म म ओछ्यानमै थिएँ । ‘काँ बिहानै छ र ? ६ बजिसक्यो, घडी हेर त ?,’ बुबाले जवाफ दिनुभयो ।

त्यसपछि मेरो र बुबाको वार्तालाप सुरु भयो । मैले ‘बुबालाई खाना खाएपछि जानुभएको भएपनि हुन्थ्यो नि ? खाना खानकै लागि फेरि कति घर र खेत ओहोरदोहोर गर्नुहुन्छ’ भनेँ । मेरो घरबाट खेतमा जानको लागि झण्डै १ घण्टा लाग्छ । बुबाले भन्नुभयो, ‘खाना तेरी आमाले बनाएर ल्याउँछे । बिहानै नआए भ्याइँदैन । सरकारले भिडभाड नगर भनेको छ । त्यसैले खेताला बोलाउने कुरा भएन । यसपटक पर्म नलगाउने कुरो छ । एक्लाएक्लै काम गर्ने सल्लाह भएको छ । धेरैको सहरबाट छोराछोरी आएर काम गर्न थालेका छन् । त्यही भएर पनि अलि सहज भएको छ । नत्र यो वर्ष त गार्हो हुने रैछ ।’ बुबाले यसो भन्दै गर्दा खेतबारीमा काम गर्दै रमाएको, बुबाले आली ताछ्दा आफू खाजा लिएर गएको याद मेरो मानस पटलमा घुम्न थाल्यो ।

हाम्रो खोलाखेत भएकोले असार लाग्ने बित्तिकै रोपाइँ सुरु हुन्थ्यो । त्यसैले जेठको १५ गतेपछि नै दुधिला मकै खाने बेला हुन्थ्यो  । जेठ २०/२१ पछि हरिया मकै पोलेर खान्थ्यौँ । खेतमा ठूलो आँपको बोट छ । त्यहाँ ठूलो ढुङ्गा पनि छ । सँगै ठूलोबाको अनि काकाको खेत पनि छ । घामले पोलेको बेला र थकाइ लागेको बेला बस्ने चौतारी भनेको आँपको फेद हो । मलाईं घरमा बस्नभन्दा पनि खेतमा जान सार्हैै रमाइलो लाग्थ्यो । आँप खायो, पौडी खेल्यो, सार्है रमाइलो हुने । अहिले एकछिन घाममा निस्कँदा र थोरै पानी छुँदा पनि टाउको दुख्ने मलाई त्यतिबेला न घामले पोल्थ्यो न दिनभर पौडी खेल्दा चिसो नै हुन्थ्यो । 

एक पटक खेतमा रोपाइँ थियो । खेतालाहरु धेरै नै थिए । खेताला भएको दिन मेरो दिनभरको काम भनेको खेतालालाई पानी ओसार्ने हुन्थ्यो । मेरो खेतसँग जोडिएको खोलाको नाम धौँ खोला हो । वर्षातको समयमा यो खोला ठूलै हुन्छ । एक वर्ष बाढी आउँदा यो खोलाले गाई भैँसीसमेत बगाएको कुरा आमाले बताउनुभएको थियो । त्यही धौँ खोलानजिकै ऐँसेलुको फेदमा चिसो पानीको कुवा थियो । त्यहीँ पानी लिन गएँ । त्यसपछि पानी लिन आएको भन्ने पनि बिर्सेछु ।

पौडी खेल्दाखेल्दै १ घण्टा बितिसकेछ । बुबाआमाले ऐँसेलु खोजेर खान थाली होला भनेर केहीबेर वास्ता नगर्नुभएको रे । धेरै बेर मैले पानी नल्याएपछि बुबाको मनमा चिसो पसेर बोलाउन थाल्नुभएछ । खोला सुसाएको बेला मैले के सुन्नु ? म एक्लै पौडी खेल्न मस्त थिएँ । एक छिनपछि हस्याङ फस्याङ गर्दै बुबा आइपुग्नुभयो । त्यसपछि पो पानी लिन आएको भन्ने याद आयो । अनि उठेर पानी ओसार्ने कित्ली खोज्छु, कतै छैन । उबाउन एउटा कचौरा पनि ल्याएकी थिएँ, त्यो पनि छैन । त्यो त खोलाले कतिखेर बगाएर लगिसकेछ !  

मैले यता उती खोजेको देखेर बुबाले भाँडो बगाएको कुरा पत्ता लगाउनुभयो । बुबाको गाली खाने डरले मेरो अनुहार मलिन भयो । तर बुबाले केही भन्नुभएन । एक्लै ठूलो खोलामा पौडी खेल्न हुँदैन भनेर सम्झाउनुभयो ।  ‘जाउ, ब्याड गराबाट ओड्ने प्लाष्टिक ल्याउ’ भन्नुभयो । धानको बिउ राखेको गरालाई ब्याड गरा भन्ने चलन छ । त्यसपछि मैले प्लास्टिक ल्याएँ । ओड्ने प्लास्टिक पखालेर त्यसैमा बुबाले पानी भर्नुभयो । सबै खेतालाले पानी खाए ।  

त्यो बेलादेखि मैले एकदम होसियारीका साथ पानी ल्याउने गर्थेँ । भाँडो सम्हाल्ने काम होसियारीपूर्वक गरेपनि मेरो पौडी खेल्ने बानी कहिल्यै हराएन । पौडी मेरो सोख नै थियो । खेतमा जाँदा पुसको जाडो नै भएपनि एक पटक पौडी नखेली मेरो मनले मान्दैनथ्यो । एकपटक शुक्रबारको दिन भएकोले स्कुलबाट चाँडै आएकी थिएँ ।  त्यसपछि  घाँस काट्न खेत गएँ । साथमा माथिल्लो घरकी बहिनी पनि थिइन् । खेतमा जाने बित्तिकै खोला आइहाल्यो । खोला देखेपछि एकपटक पौडी नखेली मेरो मन शान्त हुँदैनथ्यो । मैले बहिनीलाई ‘एक पटक पौडी खेलौँ अनि घाँस काटौँला’ भनेँ । उसलाई पनि पौडी खेल्न रमाइलो लाग्न भएकोले ‘हुन्छ’ भनी ।  

खोलामा पौडी खेल्दाखेल्दै फेरि घाँस काट्न आएको कुरा बिर्सेछौँ । अँध्यारो हुन लागेपछि  थाहा भयो । त्यसपछि के गर्ने भन्ने तनाब भयो । आमाले ‘उज्यालैमा घर आइपुग्नू’ भन्नुभएको थियो । अलिअलि साँझ पर्नासाथ बुबा खोज्न आइहाल्नुहुन्थ्यो । अब के गर्ने भन्ने चिन्ता लाग्न थाल्यो । अनि हामीले गोड्ने बेला भएको मकै उखेल्यौँ । डोको भर्यौँ । तर हामीले मकै उखेलेको कुरा थाहा नहोस् भनेर मेसैसँग होइन, बाक्लो भएको ठाउँ हेर्दै उखेलेका थियौँ । घर गएपछि आमाले घाँस हाल्ने बेला थाहा पाइहाल्नुभयो । तर आमाले सम्झाउनु मात्रै भयो, गाली गर्नुभएन । 

अहिले लकडाउनमा गाउँघरतिर धेरै जना परिवारसँगै बसेर खेतबारीको काम गरिरहेका छन् । सहरमा हुनेहरु सामाजिक सञ्जाल चलाएर, आफ्नो रुचिको विषय अध्ययन गरेर र केहीले इन्टरनेटको माध्यमबाट समसामयिक विषयहरुमा बहस र अन्तत्र्रिmया गरेर समय बिताइरहेका छन् । गाउँमा हुनेहरुलाई लामो समयपछि खेतीपातीमा रमाउने अवसर मिलेको छ । पढाइ वा जागिरको सिलसिलामा घर छोडेर सहर या विदेशमा बसेका कतिपय भने घर जान पाएका छैनन् । उनीहरुले यो बेला मैलेजस्तै गाउँघर सम्झिरहेका छन् होला ।  

कोरोना नियन्त्रणको एक मात्र उपाय मानिएको लकडाउनको पालना गर्नुको विकल्प पनि छैन । व्यापार, व्यवसाय वा पढाइमा आफ्नो समय बिताउँदै आइरहेकाहरुलाई सहरमा चुपचाप बस्नुपर्दा र आफन्तहरुबाट टाढा रहनुपर्दा मलाईजस्तै विगतको सम्झना आउनु र आफन्तलाई भेट्ने रहर लाग्नु स्वभाविकै हो । आशा गरौँ हाम्रो दैनिकी फेरि सामान्य अवस्थामा फर्किने छ  र कोरोनासँग जितेर निर्धक्क गाउँसहर डुल्ने रहर पनि पुरा हुने छ । त्यसपछि १ दिनको लागि भएपनि गाउँ गएर खेत रोप्ने अनि पौडी खेल्ने रहर मेटाउने छु । 

अन्तिम अपडेट: जेठ २०, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया