भारतबाट फर्किएका नागरिकले भरिए डोटीका क्वरेण्टीन

 जेठ १३, २०७७ मंगलबार २०:३२:२७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका नौ वटै पालिकाले निर्माण गरेका क्वरेण्टीन भारतबाट आएका नागरिकहरुले भरिएका छन् । तर ती क्वरेण्टीन सरकारी मापदण्ड अनुसार नबन्दा समस्या हुँदै आएको छ । 

क्वरेण्टीनमा शुद्ध पानीदेखि बस्ने, सुत्ने तथा खाना पकाउनसमेत समस्या भएको क्वरेण्टीनमा राखिएकाहरुको गुनासो  छ । डोटीमा कोरोना भाइरससम्बन्धी क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले उल्लेख गरे अनुसारका क्वरेण्टीन नभएका हुन् । 

स्कुलमा रहेका बेञ्च र टेबल जम्मा गरेर एकै बेडमा चारदेखि पाँच जनासम्म सुत्ने ठाउँ बनाइएका छन् । उनीहरुलाई घरभित्रै (व्यवस्थापन) राख्न नसकिएका कारण समस्या उत्पन्न हुँदै आएको दिपाल पिपल्लाका स्थानीय समिर विष्टले बताउनुभयो । 

दिपायल, रानागाउँ, मौवा, तिखा, गड्सेरा, वीपी नगरलगायतका क्षेत्रका विद्यालयमा निर्माण गरिएका क्वरेण्टीनहरु बस्ती नजिक भएकाले स्थानीयबासीमा त्रास फैलिएको छ । विद्यालयको क्वरेण्टीनमा ७२ जना राखिएको छ । यहाँका क्वरेण्टीनका एकै कोठामा १० देखि १५ जना बस्ने गरेको पाइएकाे छ । 

विद्यालयका चिसो कोठाहरूमा राखिएको र कुनै पनि सुविधा नभएको क्वरेण्टीनमा बस्नेहरुले गुनासो गर्दै आएका छन् । क्वरेण्टीनभित्र सामाजिक दुरीको ख्याल कसैले नगर्ने वीपीनगर क्वरेण्टीनमा राखिएका पदम धामीले गुनासो गर्नुभयो ।

यहाँका क्वरेण्टीनमा राखिएकाहरुको स्वास्थ्य जाँचसमेत गरिएको छैन । क्वरेण्टीनमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी नआएको उनीहरुको गुनासो छ । यहाँका गाउँमा निर्माण गरिएका क्वरेण्टीनमा सुरक्षा प्रबन्ध नहुँदा स्थानीय तथा जनप्रतिनिधिहरू आफै असुरक्षित महसुस गरिरहेका छन् । 

भारतबाट आउनेहरुको सीमा क्षेत्रमै आरडीटी तथा पीसीआर परीक्षण गर्नुपर्ने जिल्लाबासीको माग छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया