नारायणगढ मुग्लिन सडकखण्ड : जीर्ण पुलको सकस र पहिरोको जोखिम कायमै

 भदौ ६, २०७७ शनिबार १८:९:८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिए पनि पहिरोको जोखिम र जीर्ण पुलको सकस कम भएको छैन । काठमाण्डौ, पोखरा लगायतका मुख्य सहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडकखण्डको दुःख अझै हटेको छैन । 

साँघुरो सडक, त्यसैमाथि पहिरो गइरहने । यस्तो समस्या हटाउन सरकारले सडक विस्तार गरे पनि पहिरो जाने र घण्टौं सवारी जाम हुने समस्या समाधानमा सोचे अनुसार प्रगति हुन सकेको छैन । 

सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । सडक दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा भने पहिरो जान राेकिएकाे छैन । 

पहिरोको जोखिम क्षेत्र रहेको तुइन खोला, ४ किलो, १७ किलो, २६ किलो, २७ किलो, घुमाउने, टोपे खोला, भालु ढुंगामा लगायत २० स्थानमा पहिरो नियन्त्रणको काम भएको छ  । बाँकी ११ स्थानमा काम भइरहेको तर अहिले वर्षातको समय भएकाले काम रोकिएको छ । 

सडक विस्तासँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम भए पनि चार किलो लगायत मुग्लिन देखि जलबिरे सम्मको भागमा भने पहिरोले दुःख दिदै आएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या पूर्ण समाधान हुन नसकेको बताउनुहुन्छ । 

अग्ला पहाडको फेदीमा भएको सडकमा पहिरो नियन्त्रण गरेको क्षेत्रको छेउछाउबाट पहिरो झर्ने क्रम सुरु भएकोले समस्या देखिएको खनालले बताउनुभयो । सडकबाट भौगोलिक अवस्था नहेरी शाखा सडक विस्तार गर्दा पनि पहिरोको समस्या हुने गरेको छ । जलवीरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम रहेको खनालले बताउनुभयो । 

गएको वर्ष यस सडक खण्डमा पहिरोका कारण ३ घण्टा मात्र सडक जाम भएको भए पनि यस वर्ष साउन महिना सम्ममा ४० घण्टा जाम भइसकेको खनालले बताउनुभयो ।  यस सडकखण्डमा १८ वटा साँघुरा एवं जीर्ण पुल रहेकोमा तीन वटा पुल बनीसकेका छन् भने जलवीरेमा पुल बनीरहेको छ । बाँकी १४ वटा पुल बनाउनका लागि ठेक्का प्रकृया सकिएको छ । 

तस्बिर : नारायणगढ मुग्लिन सडक खण्डका सूचना अधिकारी शिव खनाल 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया