चितवनमा काेराेना सङ्क्रमण दर बढ्दै गएपछि भेन्टिलेटर र आईसीयूकाे माग

 भदौ ११, २०७७ बिहिबार २१:४:५१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – कोभिड १९ क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापन सल्लाहकार समूहको बैठकले चितवनमा भेन्टिलेटर र आईसीयूसहित स्वचालित मेसिनको माग गरेको छ । 

बैठकले चितवनमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षणको दायरा बढाउन स्वचालित मेसिनको माग गरेको हो । स्वचालित मेसिनको लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी माग गर्ने बैठकले निर्णय गरेको छ ।

सरकारबाट प्राप्त हुने अवस्था नभए जिल्ला समन्वय समितिको नेतृत्वमा सबै पालिकाको सहयोग लिएर आफै खरिद गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो । 

चितवनका सरकारी तथा निजी अस्पतालमा भएका भेन्टिलेटर र आईसीयूको अधिकतम प्रयोग गर्न र थप भेन्टिलेटर र आईसीयू पठाउन केन्द्रीय र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको डल्लाकोटीले जानकारी दिनुभयो ।  

बैठकले चितवनमा कोभिड–१९ को उपचार गर्ने अस्पतालको सङ्ख्या थप गर्न सरकारलाई आग्रह गर्नुका साथै यसका आशङ्का गरिएका बिरामीलाई अस्पतालसम्म ल्याउन एम्बुलेन्सको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । 

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन र उनीहरुलाई अपमान वा दुर्व्यवहार नगर्न बैठकबाट आह्वान गरिएको छ । सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र अनुशासनमा बस्न नागरिकहरुलाई आग्रह गरिएको छ । 

बैठकमा सांसद एवम् संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कोरोना सङ्क्रमितलाई भेदभाव र अपमान नभइ माया र सद्भाव दिएर रोगमाथि विजय हासिल गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । 

बैठकमा चितवनका सांसद, पालिकाका प्रमुख र सरोकार राख्ने निकायका प्रतिनिधि सहभागी थिए ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया