स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - चीनको वुहानमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेर मानिस घरभित्रै थुनिएका छन् भन्ने खबर सुन्दा अनौठो लाग्थ्यो । सन् २०२० को सुरुवातमा सुनिएका यस्ता खबरले संसारमा कस्ता समस्या भोग्नुपर्ने ठाउँ पनि छन् भन्ने लाग्थ्यो । आफू पर्यटन व्यवसायमा रहेको र त्यो चिनियाँ पर्यटक आउने समय भएकोले त्यताको खबर अलि बढि नै चासो लिएर हेरिन्थ्यो, पढिन्थ्यो, सुनिन्थ्यो ।
बिस्तारै कोरोना भाइरस संसारको यात्रामा निस्कियो । भाइरसले यात्रा थालेपछि हामीले घुमाउने पर्यटकहरुको यात्रा रोकियो । चीनमा मानिसहरु थुनिएको सुन्दा निस्सासिएको म पनि घरभित्र थुनिएँ । एक जना मात्र सक्रिय सङ्क्रमित रहेकोले लामो समय लकडाउन नहोला भन्ने लाग्थ्यो । तर एक/दुई हप्ता भन्दै पाँच महिना बितिसक्यो । अझै कति समय थुनिनुपर्ने हो थाहा छैन ।
पर्यटन क्षेत्र तहसनहस
कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण संसारकै अर्थतन्त्र तहसनहस भएको छ । स्वास्थ्यमा आधारितलगायतका अरु केही व्यवसाय चलेका भए पनि धेरैजसो व्यवसाय प्रायः बन्द छन् वा काम घटेको छ । महामारीका कारण ठप्प भएको एउटा क्षेत्र हो, पर्यटन व्यवसाय ।
सुधार हुँदै गएको नेपालको पर्यटन व्यवसाय एकाएक क्षतविक्षत भएको छ । नेपालमा पर्यटक आउने स्प्रीङ सिजन पूरै ठप्प भयो भने सुरु भैसकेको अटम सिजन (शरद ऋतुमा) मा पनि पर्यटक आउँदैनन् । पर्यटक आएपछि मात्रै चल्ने व्यवसाय पर्यटक नै नआएपछि पूरै बन्द हुने भइहाल्यो ।
राजनीतिक स्थिरता, सडकलगायत भौतिक विकास, सेवा क्षेत्रमा भएको सुधारलगायतका कारण नेपालमा पर्यटन व्यवसाय फस्टाउँदै गएको थियो । यसमा लगानी बढिरहेको, व्यावसायिकतामा सुधार भइरहेको जस्ता कारण केही वर्षमा नेपालको पर्यटन क्षेत्र निकै अब्बल बन्ने आशा पनि थियो । तर कोरोनाले सबै सपनाहरु तहसनहस बनाइदिएको छ ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकोले पनि यस वर्ष पर्यटन क्षेत्र थप समस्यामा पर्यो । भ्रमण वर्षका कारण पर्यटकको संख्या बढ्ने आशाले होटल, यातायातलगायतका क्षेत्रमा ठूलो लगानी थपियो । तर यही वर्ष पर्यटक आवागमन नै ठप्प हुँदा त्यो थपिएको लगानी पनि डुब्यो । यस वर्ष भ्रमण वर्ष घोषणा गर्नु हामी पर्यटन व्यवसायीका लागि निकै महँगो सावित भएको छ ।
झड्का धेरैतिर
पर्यटक नआउँदा पर्यटक ल्याउने तथा घुमाउने कम्पनीहरु त बन्द हुने भइहाले । यससँग जोडिएका थुप्रै व्यवसायहरु बन्द छन् । बिमान कम्पनी, यातायात, होटललगायतका व्यवसाय चल्न सकेका छैनन् ।
पर्यटक नआउँदा त्यसको असर धेरैतिर पर्छ । पर्यटकलाई घुमाउने गाइड, उनीहरुको भारी बोक्ने भरिया, खाना पकाउने कुकदेखि पर्यटकका लागि तरकारी, फलफूल उत्पादन गर्नेहरुको पनि काम रोकियो वा उत्पादन बिकेन । विदेशी पर्यटक आउँदा प्रत्यक्षसँगै अप्रत्यक्ष रुपमा रोजगारी पाउने धेरै हुन्छन् । पर्यटन क्षेत्र ठप्प हुँदा अहिले समस्या धेरैतिर बढेको छ । लामो समयदेखि पर्यटन क्षेत्र ठप्प हुँदा कतिपय व्यवसायीहरु यस सम्बन्धित व्यवसाय बन्द गरेर अरु काम गर्न थालेका छन् ।
कार्यालयको भाडा तिर्न समेत समस्या हुन थालेपछि व्यवसायबाट नै अलग हुने अवस्था आएको छ भने यसमा आश्रित मदजुरहरु बेरोजगार बनेका छन् । केही गाउँघरमा खेतिपातीमा लागेको भए पनि धेरै मजदुरहरु ऋण खोजेर दैनिकी चलाउन बाध्य भएका छन्।
असर लामो समय पर्न सक्छ
नेपालमा २०७२ सालमा भूकम्प गयो । त्यसबेला समस्या नेपालीलाई मात्रै अझै भनौँ नेपालको पनि केही ठाउँका मानिसलाई मात्र परेको थियो । त्यसैले सहयोगी हातहरु जुटे । सहयोगको ठूलो अभाव भएन । धेरै क्षति हुँदा पनि मानिसहरुलाई पहिलेको अवस्थामा फर्कन धेरै कठिनाइ भएन । दातृ निकाय, सरकार सबैको साथ पायौं । पर्यटन व्यवसाय पर्ने एक वर्षमै पुरानै अवस्थामा फर्कियो ।
केही मानिसले कोरोना महामारी सुरु हुँदा पनि यस्तै सोचेका थिए । सहयोग आउँछ र एउटा सिजन रोकिए पनि अर्को सिजनमा पर्यटक आउँछन् । तर अवस्था त्यस्तो छैन । कोरोनाको सङ्क्रमण संसारमा परेको छ । यसले विश्वकै अर्थतन्त्र धरापमा पारेको छ । कैयाैँको रोजगारी गुमाएको छ । हामीलाई सहयोग आउने वा हाम्रो देश घुम्न आउने दुवै किसिमको देशमा कोरोनाले समस्या ल्याएको छ । त्यसैले महामारीमा सहयोग मात्रै हैन महामारी रोकिएको लामो समयसम्म पर्यटक आउने संभावना पनि छैन ।
केही व्यक्तिले कोरोना महामारी नियन्त्रण भएपछि पर्यटकहरु आइहाल्छन् भन्ने गरेका छन् । तर मलाइ त्यस्तो लाग्दैन । नेपालमा अझै लामो समय या भनौँ ५/६ वर्ष नै पर्यटक आउँदैनन् । आउँदाे स्प्रीङ सिजनमा हिमाल आरोहण गर्ने केही पर्यटक आउलान् तर अरु क्षेत्रका पर्यटक आउन निकै समय कुर्नुपर्छ ।
नेपालमा उच्च घरानाका पर्यटक आउँदैनन् । लामो उडान यात्रामा कठिनाइ हुने भएकोले उनीहरु यति टाढा यात्रा गर्न रुचाउँदैनन् । यहाँ आउने भनेका केही मध्यमवर्गीय र धेरै जसो निम्न वर्गीय घरानाका पर्यटक हुन् । उनीहरुलाई अहिले कोरोनाले समस्यामा पारेको छ । कतिपयको व्यवसाय बन्द भयो, कतिको रोजगारी गुम्यो, केही घुम्न खोज्ने मानिस नै बिते । आर्थिक रुपमा कमजोर हुन थालेपछि सबैभन्दा पहिलो खर्च कटौती यात्रा हो ।
धेरैले यात्राको खर्च कटौती गर्दा वा आफ्ना लागि रोजगारी तथा व्यवसायको बन्दोबस्त गर्नुपर्ने हुँदा यहाँ लामो समयसम्म पर्यटक आउने संभावना देखिँदैंन । कतिपय व्यवसायीहरुले पर्यटकहरु नेपाल आउन इच्छुक छन् भन्ने गरेको भए पनि यसअघिको मित्रवत सम्बन्धका कारण भावनात्मक सम्बन्धले आश्वासन मात्र दिएका हुन् ।
पूर्वाधार र जनशक्ति जोगाउन मुश्किल
अबको पाँच/छ वर्ष पर्यटक निकै कम आउने पक्का छ । त्यो भनेको निकै लामो समय हो । त्यस बेलासम्म पर्यटक ल्याउने ट्रेकिङ एजेन्सी, हवाइ यातायात, होटल तथा चियापसलहरु चलाइराख्न मुश्किल पर्छ । पर्यटक नै नआएपछि एजेन्सीहरु बन्द हुन्छन्, त्यो क्षेत्रका व्यवसायीहरु अन्यत्र पलायन हुन्छन्, होटलहरु बन्द गर्न वा सेवा घटाउन बाध्यता हुन्छन् ।
नेपाल आउने धेरै पर्यटक पर्वतीय पर्यटक हुन् । उनीहरु घुम्न जाने पदमार्गहरुमा पनि हजारौँ होटल, पसललगायतका व्यवसाय छन् । पर्यटक नै नआएपछि ती व्यवसाय बन्द गरेर व्यवसायीहरु पलायन हुन सक्छन् । व्यवसाय मात्रै हैन जनशक्ति पनि पलायन हुन सक्छ ।
पर्वतीय पर्यटनका लागि मजदुरहरु पनि विशेष क्षमता भएका हुनुपर्छ । उनीहरुका लागि खानेकुरा बनाउने कुकदेखि हिमाल आरोहण सहयोगी, हिमाली पथ प्रदर्शक सबै रोजीरोटीको खोजीमा पेशाबाट पलायन हुन सक्छन् । लामो समय पर्यटक नआउँदा हुन सक्ने यस्ता समस्याले नेपालमा पर्यटन व्यवसायलाई पहिलेको अवस्था ल्याउन निकै मेहनत गर्नुपर्छ ।
पूर्वाधार जोगाइराख्न सरकारी पहल आवश्यक
सरकारले अहिलेसम्म कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको असर र यो क्षेत्र जोगाउन के गर्न सकिन्छ भनेर गम्भीर छलफल गरेकै छैन । सतही रुपमा केही बोलीहरु सुनिए पनि यो क्षेत्रमा कालान्तरसम्म पर्ने प्रभाव तथा पूर्वाधारहरु जोगाउन गर्नुपर्ने कामका बारेमा चासो देखिएको छैन ।
पर्यटनसँग जोडिएका व्यवसायी तथा मजदुरहरुलाई जोगाइराख्न ठोस योजना हुनुपर्छ । व्यवसायीहरुलाई कर छुट, सहुलियत दरमा ऋण उपलब्ध गराउने जस्ता काम गर्न सकिन्छ भने पर्वतीय क्षेत्रमा काम गर्ने मजदुरहरुलाई हिमाल सरसफाई लगायतका काममा लगाएर उनीहरुको रोजीरोटीको व्यवस्था गर्दै यो पेसामा राखिराख्नु पर्छ ।
पाँच वर्षपछि पर्यटक आउन थाल्दा हिमाल चढाउने मानिस भएन भने, हिमाली बाटो देखाउनेहरु रहेनन् भने, पदमार्गमा चिया खाने होटल पाइएन भने, एजेन्सीहरु भएनन् भने अरु लामो समय नेपालमा पर्यटक आउँदैनन् । अहिले विश्वमै यो क्षेत्रमा प्रतिस्पर्धा बढेकाले नेपालको पर्यटक क्षेत्र जोगाउन सरकारले धेरै पहल गर्नुपर्छ ।
आन्तरिक पर्यटक विकल्प, तर तत्कालै हैन
विदेशी पर्यटकहरु लामो समय आउँदैन । यसको विकल्पमा आन्तरिक पर्यटक बढाउन सरकारले पहल गर्नुपर्छ । सरकारी कर्मचारीलाई बिदा तथा सुविधा दिएर घुम्न पठाएर होस् वा प्रचारप्रसार, घुम्नेलाई विभिन्न कर छुट जस्ता कार्यक्रमहरु ल्याएर देशभित्रै घुमफिर गर्ने अवस्था ल्याउनुपर्छ । यसो गरियो भने जनशक्ति काममा रहिरहन्छ भने होटल, पसल यातायात जस्ता व्यवसायहरु पनि टिकिरहन सक्छन् ।
तर अहिले नै भने आन्तरिक पर्यटक खुलाउने बेला पनि भएको छैन । अहिले हिमाली बस्तीमा कोरोना पुगिसकेको छैन । त्यसैले त्यहाँका मानिस बरु पर्यटक नआउन् कोरोना नआओस् भन्छन् । त्यसैले केही समय आन्तरिक पर्यटक पनि चलाइहाल्न सकिँदैन । तत्काल सरकारले गर्नुपर्ने भनेको सङ्क्रमण रोक्नु नै हो । तर पर्यटन क्षेत्रको समस्यालाई पनि गम्भीर रुपमा लिएर सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन र विदेशी पर्यटक ल्याउने वातावरण बनाउन स्पष्ट योजनाका साथ काम गर्नुपर्छ ।
(पर्यटन व्यवसायी कर्मा शेर्पासँग भोजेन्द्र बस्नेतले गर्नुभएको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्मा शेर्पा पर्यटन व्यवसायी हुनुहुन्छ ।