रिएजेण्ट अभावले भरतपुर कोभिड ल्याबमा परीक्षण रोकियो : तीन सय २५ नमूना काठमाण्डौ पठाइयो

 असोज ७, २०७७ बुधबार १२:५४:४४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ ल्याबमा पीसीआर परीक्षणको रिएजेण्ट सकिएपछि मङ्गलबारदेखि परीक्षणको काम रोकिएको छ ।

भरतपुर अस्पतालका प्रमुख डाक्टर राजन पाण्डेले ल्याबमा गएकाे सोमबार रिएजेण्ट सकिएपछि परीक्षण रोकिएको जानकारी दिनुभयो । उहाँले ल्याबमा तत्कालै परीक्षण सुरु गर्नका लागि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसंग एक हजार रिएजेण्ट माग गरेको पनि बताउनुभयो ।

उहाँका अनुसार स्थानीय स्तरमा ५ लाख बराबरको रिएजेन्ट खरिद गर्ने निर्णय भएको छ । ‘स्थानीय स्तरमा खरिद गरिने रिएजेण्टले दुई दिनलाई पनि नपुग्ने देखियो’, उहाँले भन्नुभयो ‘स्थानीय स्तरबाट खरिद गर्नुभन्दा केन्द्रबाटै माग गर्ने विषयमा जोड दिएका छौँ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य ल्याबलगायत अन्य ल्याबमा रिएजेण्ट खोज्ने काम भइरहेको डा पाण्डेले बताउनुभयो । ल्याबमा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पीसीआर रिएजेण्ट मध्ये रिएजेण्ट अभाव भएको हो ।

जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पीसीआर परीक्षण गर्दै आएका छन् । ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर ल्याबले भने निःशुल्क परीक्षण गरिरहेको छ ।

गएकाे चैत २२ गते शुरु भएको यस ल्याबले अहिलेसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ । चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि यहाँ पठाइने गरेको छ । परीक्षण नहुने भएपछि ल्याबमा संकलन भएको तीन सय २५ नमुना काठमाण्डौ पठाइएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया