म्याद सकिएपछि ओखलढुङ्गा-रामपुर सडकमा कालोपत्रे धमाधम

 कात्तिक २३, २०७७ आइतबार १०:२२:१० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - ओखलढुङ्गाको सदरमुकामबाट पश्चिमी भेग जोड्ने सडक ओखलढुङ्गा-रामपुर-लप्सेखोला सडकको कालोपत्रेको काम म्याद सकिएपछि तीव्र बनाइएको छ ।

यो सडकमा डीबीएसटी कालोपत्रे गर्न थालिएको हो। अहिले ओखलढुङ्गा सदरमुकामको नयाँबजारदेखि रामपुरतर्फको सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम धमाधम भइरहेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूकम्प आपतकालीन सहायता आयोजना अन्तर्गत निर्माण भइरहेको ओखलढुङ्गा-रामपुर-लप्सेखोला सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे हुनेछ । २३ दशमलव ६२ किलोमिटर लामो सडकमा ७ दशमलव ६२ किलोमिटर क्षेत्रमा भने ग्राभेल गर्ने प्राविधिक स्टीमेट छ ।

२०७५ असार २७ मा भ्याटसहित २९ करोड ९९ लाख ६० हजार १ सय ३ रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै कालोपत्रेको काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि काम नसकिएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।

पछिल्लो समयमा भने लकडाउन र वर्षाका कारण काम प्रभावित भएको थियो । अहिले यस सडकखण्डमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इन्जिनियर सरोज केसीले बताउनुभयो ।

सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा भने सकिएको छ । बन्दाबन्दीका कारण काम पूरा हुन नसकेको ठेकेदार कम्पनीले जनाएको छ । यो सडक सम्पन्न गर्नुपर्ने म्याद २०७७ असोज २९ गते थियो । सडक निर्माणको समयसीमा थप गर्नका लागि पहल भइरहेको कार्यालयको भनाइ छ । आउँदो मंसिरसम्म सडक निर्माणको काम नसकिए पुस माघमा चिसो बढ्ने र कालोपत्रे नबस्ने समस्याले चैतसम्मै पर्खनुपर्ने प्राविधिकहरु बताउँछन् ।

‘काम तीव्र गतिमा गराउनका लागि हामी तयारी छौँ,’ इन्जिनियर केसीले भन्नुभयो- ‘तर तिहार, छठ जस्ता चाडपर्वका कारण अत्यधिक गाडीहरु आवतजावत गर्ने भएकाले काम गर्न समस्या देखिएको छ ।’
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया