एमाले र जसपा फुटाउन सहज हुने गरि सरकारले अध्यादेश ल्याउँदै, पार्टी फुटाउने षड्यन्त्र क्षम्य हुँदैन : ओली

 भदौ १, २०७८ मंगलबार ६:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर, रासस

काठमाण्डाै - सरकारले नेकपा एमाले र जसपा फुटाउने उद्देश्यले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको छ ।

एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको नेता महन्थ ठाकुर पक्षले अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढङ्गले अध्यादेश ल्याउन लागिएको बुझिएको छ । सरकारको सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश ल्याउने निश्चित भएको छ । 

अहिलेको राजनीतिक दलसम्बन्धी ऐन अनुसार कुनै पनि दलको केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा त्यस्ता सदस्यसमेतले नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्यागेको नमानिने उल्लेख छ ।

ऐनमा भनिएको छ : ‘कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यसमेत भइ नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’

यसअघि दल फुटाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद् छलेर २०७७ वैशाख ८ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ ल्याउनुभएको थियो ।

उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीलाई फुटाउन ओलीले अध्यादेश ल्याए पनि तत्कालीन राजपा र समाजवादी पार्टीबीच रातारात पार्टी एकता गर्दै जसपाको घोषणा भएको थियो । ओलीकै बाटो पच्छ्याउँदै देउवाले पनि अर्को दललाई फुटाउनकै लागि संसद छलेर अध्यादेश ल्याउन लागेको भन्दै विरोध भइरहेको छ ।

पार्टी विभाजन गर्ने षड्यन्त्र क्षम्य हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजनको षड्यन्त्र भएको भन्दै सरकारको विरोध गर्नुभएको छ ।

हिजो वक्तव्य निकालेर उहाँले प्रतिनिधि सभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको छ ।

वक्तव्यमा ओलीले भन्नुभएको छ ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन।' ओलीले नेता, कार्यकर्ता र सांसदहरूलाई विभाजनका प्रयासविरुद्ध उभिन अपिलसमेत गर्नुभएको छ ।

पार्टीमा एकताका लागि कार्यदल स्तरमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै ओलीले स्थायी, केन्द्रीय लगायतका सम्बद्ध कमिटीहरुको बैठकमा सहभागी हुन समेत आह्वान गर्नुभएको छ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया