कोरोनालाई ख्याल गर्दै दशैँमा यसरी मिलाऔँ सन्तुलित खानपान

 असोज २७, २०७८ बुधबार ७:३८:२५ | डा.कल्पना तिवारी
unn.prixa.net

दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै परिकार खाँदै नखाने गर्नुभएन । हामीले सकेसम्म सन्तुलित भोजन नै गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै अन्नको समूह खानु पर्यो । दाल तथा गेडागुडी र माछा, मासुको समूह पनि मिलाउनु पर्यो । अनि फलफूल र सागपात अर्थात हरियो सागपात र तरकारीहरू पनि मिलाउनु पर्ने हुन्छ, सन्तुलित भोजन हुनका लागि । 

चाहे चाडबाड होस् या अरु बेला, यो कुरा हामीले बिर्सनु हुँदैन । हाम्रो पोषणको हिसाब गर्दा अन्नको समूह, दाल तथा गेडागुडीको समूह, माछा, मासु साथै दूध, दही अनि सागपात र फलफूल गरी चार समूह छन् । यी सबै चार समूह हाम्रो थालीमा जहिले पनि हुनुपर्छ । 

तर, दशैँ भन्ने बित्तिकै हाम्रो माछा, मासु प्रशस्त हुन्छ । कतैकतै सुक्खा चिउरा खाने चलन पनि छ । त्यसले गर्दा दाल तथा सागपात र फलफूलको मात्रा कम हुने धेरै सम्भावना छ । हामीले हाम्रो चाडबाडमा निश्चित रुपले यस्तो खाना खाने भनेर मनस्थिति बनाएका छौँ। तरकारी तथा फलफूल जसमा भिटामिन सी, भिटामिन ए तथा रोग विरुद्ध लड्ने जुन भिटामिन तथा खनिज तत्वहरु पाइन्छ, त्यो चिज खाने सम्भावना कम हुन्छ दशैँमा । 

हामीले माछा, मासु मात्र तागतिलो हो भन्ने एउटा स्वभावलाई कम गरेर दैनिक खाने तर कम मात्रामा खाने गर्नुपर्छ । अहिले हाम्रो धेरै किसिमका रोगहरु भएका कारण चिल्लो कम तथा नुन कम खाने गर्नुपर्छ । एउटै किसिमका मात्र खानेकुरा नखाएर सबै किसिमका खानेकुरा दैनिक खाने गर्नुपर्छ । 

पहिलो कुरा हाम्रो खाना सन्तुलित छ कि छैन अर्थात चारै समूहका खानेकुरा पर्यो कि परेन भनेर ध्यान दिनु पर्छ । कोभिड भइसकेको अवस्था हुनसक्छ । बिरामी भएर उठेको अवस्था हुनसक्छ यस्तोमा हामीले पटक पटक थोरै खाने बानी गर्नुपर्छ । चाडबाडमा झोलिलो खाने कम हुनसक्ने हुनाले झोलिलो कुरा खानुपर्छ । 

चाडबाडमा कोल्ड ड्रिङ्क तथा अन्य पेय पदार्थ खाने सम्भावना धेरै हुन्छ । त्यसलाई कम गर्ने, नखाने तथा फलफूल साथै दही, दूधमा जोड दिने गर्नुपर्छ । चिल्लो तथा नुन कम भएको माछा, मासुको सुपहरु बनाएर खाने मौका पनि हो यो दशैँ भनेको । 

कोभिडका बिरामीलाई ध्यानमा राख्दा पटक पटक थोरै थोरै गरेर खायो भने चाहिँ पोषणले छिटो हामीलाई तन्दुरुस्त हुन मद्दत गर्छ । यसमा धेरै आत्तिनु पर्ने कुरा छैन । आनन्द लिएर सबै कुरा खान सकिन्छ । तर, सन्तुलित भयो कि भएन यति कुरामा भने ध्यान दिनु पर्छ । एकै पटक धेरै नखाएर सबै कुरा मिलाएर थोरै पटक पटक आनन्द लिएर खाने गर्नुपर्छ । 

चाडबाड भनेको रमाइलो पनि हो । त्यसैले चिन्तामुक्त भएर आनन्दले खाने गर्नुपर्छ । अलिकति हल्का व्यायामहरु पनि गर्नुपर्छ । चाडबाड भनेर केवल बस्ने, तास खेल्ने, मासु मात्र बढी खाने बानीलाई भने हामीले बदल्नु पर्छ । बिरामी खाना जस्तो सादा खाने तर, सबै प्रकारका खाना खाने गर्नुपर्छ । त्यसले हामीलाई सबै प्रकारको तागत दिन्छ । 

हामीलाई के लाग्छ भने तागतिलो भनेको धेरै खानुपर्छ । तर, त्यसो होइन । अन्नको समूह जसमा दाल, भात, तरकारी, मकै गहुँ, कोदो, फापर मध्ये पनि केही खानु पर्यो । गेडागुडी, दाल एक कचौरा, अन्न पनि एक कचौरा खाने गर्नुपर्छ । यसमा दाल तथा तरकारीको मात्रा बढाउने गर्नुपर्छ । 

हामीकहाँ तरकारी एकदम कम खाने बानी छ । अझ सलाद तथा अचार खाने गर्नुपर्छ । तर, हामीकहाँ अचार भन्ने बित्तिकै धेरै पिरो हालेर कम खाने चलन छ । गोलभेँडाको अचार अलि कम पकाएर धेरै मात्रामा खाने गर्नुपर्छ । अझ त्यसमा धनियाँ हालेर खानु भिटामिनको लागि एकदमै राम्रो हो । 

हामी नेपालीको अचार खाने चलन छ त्यो एकदमै राम्रो हो । त्यस्तै सलादहरु बनाएर खाने बानी गर्नुपर्छ । त्यस्तै दूध तथा दही अनि मासु एक, दुई टुक्रा खाने गर्नुपर्छ । तर, धेरै खाने गर्नु हुँदैन  । 

पोषणविद् डा.कल्पना तिवारीसँगको कुराकानी काेराेना क्याप्सुलमा सुन्नुहाेस् । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा.कल्पना तिवारी

डा.कल्पना तिवारी पाेषणविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया