यो वर्षको हिउँदमा पनि औसतभन्दा धेरै पानी पर्ने

 कात्तिक ८, २०७८ सोमबार ७:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले  बताएका छन् ।

विशेषगरी प्रदेश-१ का तराईका जिल्ला, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ । केही वर्षयता नियमित रुपमा हिउँदमा पानी क्रम नबढेको भए पनि एक/दुई वर्ष बिराएर वा छिटो छिटो पानी बढी पर्ने क्रम दोहोरिन थालेको  उहाँले बताउनुभयो ।

अक्टोबर, नोभेम्बर महिनामा वा हिउँदमा ठूलो पानी पर्नु बिरलै घटना मानिन्छ । तर केही वर्षयता यसको क्रम छिटोछिटो हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने उहाँले बताउनुभयो । 

केही दिन अगाडि पनि ठूलो वर्षा भयो । केही वर्षयता अक्टोबर नोभेम्बरको तथ्याङ्क हेर्ने हो भने पश्चिममा धेरै पानी पर्ने गरेको देखिएको छ । यो समयमा पश्चिमी वायु सक्रिय हुने भएकाले पश्चिमी क्षेत्रमा बढी पानी परेको हुन सक्ने मौसमविद् कँडेलले बताउनुभयो । 

समग्रमा गएको तीस वर्षको तथ्याङ्कलाई हेर्दा  सुक्खा समयमा पानी पर्ने क्रम केही बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोबर र नोभेम्बर महिनामा सरदरमा ७४ मिलीमिटर पानी पर्नु पर्ने हुन्छ । 

यो ३० वर्षको अन्तराललाई विश्लेषण गरेर बनाइएको औसत वर्षाको दर भएको विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले बताउनुभयो । तर नोभेम्बर सुरु नै नहुँदा अर्थात अक्टोबरको २३ तारिखसम्ममै यसपालि २५६.६ मिलीमिटर पानी परेको छ । 

१२ वर्षको अन्तरालमा यो समयमा यति ठूलो पानी परेको मौसमविद्ले बताएका छन् ।  बेमौसमी वर्षा र हिउँदमा बढी पानी पर्ने कारणले धेरै क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरण गर्न पूर्वतयारी र जनचेतनामा जोड दिनुपर्ने मौसमविद्को भनाइ छ ।

यसपालिको बर्खामा पनि औसतभन्दा धेरै वर्षा भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया