‘याे वर्ष काठमाण्डाैकाे तापक्रम माइनस वा शून्यकाे आसपास पुग्न सक्छ’

 कात्तिक २२, २०७८ सोमबार १५:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । आज सोमवार हामीसँगकाे कुराकानीमा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकाले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताउनुभएको हो । उहाँले गएकाे १० दिनको तापक्रम हेर्दा काठमाण्डाै उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । 

वरिष्ठ मौसमविद् पौडेलका अनुसार गएकाे १० दिनमा काठमाण्डाैकाे तापक्रम १७ डिग्रीबाट आठ डिग्री सेल्सियससम्म झरेको बताउनुभयो । उहाँले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस एक डिग्री सेल्सियससम्म पुगेको जानकारी दिनुभयो । आउँदा दिनमा काठमाण्डाै उपत्यकाको तापक्रम घटेर माइनस वा शून्य डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको उहाँले बताउनुभयो ।

वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, ‘हप्ता/१० दिन जति भयाे नेपालको विभिन्न ठाउँमा बिहान र रातिको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ । हप्ता/१० दिनको कुरा हेर्दा काठमाण्डाैकाे न्यूनतम तापक्रम १६/१७ डिग्रीबाट घट्दै नाै डिग्रीसम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यति चिसो हुँदै जाँदा विशेष गरेर रातिको आकाश खुला अवस्थामा छ, दिन पनि छोटो हुँदै जान्छ, त्यसैले आउँदा दिनमा चिसो पनि बढ्दै जान्छ, हामी जाडोयाममा प्रवेश गर्दैर्छौँ । यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रूपमा जाडो बढ्दै जान्छ, हिजोआजको माैसम हेर्दा नेपालको सन्दर्भमा मौसम केन्द्रको तथ्याङ्क हेर्दा जुम्लामा माइनस एकसम्म पुगेको अवस्था छ, काठमाण्डाैमा नाै डिग्रीसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै काठमाण्डाैमा माइनसमा जान्छ भन्न सकिँदैन तर तापक्रम माइनस वा शून्यकाे आसपास जान सक्छ यो वर्ष । अझै जाडो हुने महिना मङ्सिर, पुस, माघ बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकाले नेपालमा पनि जाडोयाममा मुख्य सहरहरूमा प्रदूषण बढ्न सक्ने बताउनुभयो । उहाँले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायुमण्डल नजिकै बस्ने र हावा नचल्ने भएकाले काठमाण्डाैलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता सहरमा आउँदा दिनमा प्रदूषण बढ्ने बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न पालिका, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिनेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नुपर्ने बताउनुभयो ।

‘भारतमा, चीनको बेइजिङमा पनि प्रदूषण बढ्दै गएको छ भन्ने कुराहरू आइरहेको छ । गएकाे वर्ष पनि नेपालका काठमाण्डाैलगायत मुख्य सहरहरूमा जाडोयाममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्यधिक प्रदूषित सहर भनिएको थियो । यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षायाम वा चैत, वैशाख, जेठ जस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन । लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमिन नजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाण्डाैलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुरमा आउँदा दिनमा पनि प्रदूषण बढ्न सक्ने सम्भावना छ, त्यसैले हामीले अहिलेदेखि नै त्यसको तयारीका कुराहरू अपनाउनुपर्ने हुन्छ । लामो समय हिउँद र वर्षायाममा वर्षा भएन भने त्यस किसिमको प्रदूषण हुन्छ, तराईमा हुस्सु लाग्ने हुन्छ, चिसो लाग्ने सम्भावना माइनसमै जान्छ भनेर भन्न सकिँदैन, तर काठमाण्डाैकाे कुरा गर्दा चिसो शून्यकै आसपासमा हुन्छ, त्यसैले जाडोयामलाई मध्यनजर गर्दै त्यहीअनुसार तयारीका कुराहरू व्यवस्थित गर्नुपर्छ । पालिका, प्रदेश, केन्द्र सबै मिलेर बढी चिसोबाट जनधनको क्षति नहोस् भनेर तयारीका कुराहरू अहिलेदेखि नै अपनाउनुपर्छ । विशेष गरेर गर्मीयाममा भन्दा जाडोयाममा प्रदूषण बढी हुन्छ, वायुमण्डल स्थिर भएर बसेको हुन्छ, त्यसले गर्दा जति पनि प्रदूषणहरू हुन्छ, ती प्रदूषणहरू वायुमण्डलको माथि आकाशमा उड्न सक्दैन, वायुमण्डलको तल्लोस्तरमा बसेको हुन्छ, त्यही लेयरबाट हामी श्वासप्रश्वास गर्छाैँ, त्यस्तो बेलामा आँखा पिरो हुने, धमिलो हुने, कतिपय ठाउँमा दिउँसै अँध्यारो जस्तो हुने हुन्छ । त्यसैले जाडोयाममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडोयाममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भिडभाड हुने सहरी क्षेत्रमा यस्तो खालको अवस्था हुन सक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरू अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरू अपनाउँदै जानुपर्ने हुन्छ ।’ 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया