सांसदसँग पीडा पोख्दै मकवानपुरका वनकरिया समुदाय

 कात्तिक २९, २०७८ सोमबार ९:२:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका-४ मुसेधापमा रहेको वनकरिया बस्तीमा वाग्मती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्रीदेखि सांसदहरूसम्म पुगेका छन् ।

जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा नागरिकसँग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा वाग्मती प्रदेश सभाका सदस्यहरूले वनकरिया समुदायको समस्या बुझेका हुन् । 

खुला चौरमा गरिएको अन्तरक्रियामा वनकरियाहरूले वर्षाैँदेखिको जङ्गली जीवन छाडेर बस्दै आएको जमिनको लालपुर्जा पाउनुपर्ने, गाउँमा विद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गर्न माग गरेका छन् । यता प्रदेश सभाका सदस्यहरूले वनकरियाको समस्या समाधान गर्न तीनै तहका सरकारलाई दबाब दिने बताएका छन् । 

नागरिकको पहुँचमा सांसदहरूलाई अझै पहुँच योग्य बनाउनका लागि यो कार्यक्रम वनकरिया बस्तीमा गरिएको हो । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रम राखिएको हो ।

वनकरियाका कारण मकवानपुर चिनिएको छ : पूर्व मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वनकरियाका कारण मकवानपुरको चिनारी भएको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो बस्तीलाई व्यवस्थित बनाउनका लागि आफूहरूले तीनै तहका सरकारलाई दबाब दिने बताउनुभयो । वनकरिया समुदायले पनि लालपुर्जा पाउने चरणमा पुग्दा भूमि आयोग नै खारेज भएकोमा पौडेलले आपत्ति जनाउनुभयो । 

यो बस्ती नजिक विद्यालय नहुँदा समस्या भएकाले विद्यालय खोल्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘स्कुल खोल्न हामी लाग्छौँ । अहिले यस समुदायका बालबालिकालाई जतिसम्म पढ्ने हो त्यतिसम्म निःशुल्क हुनुपर्छ । अझै विद्यालय स्तरमा पढ्नका लागि त शुल्क लाग्दैन । कसैले लगायो भने गाउँपालिकाले पढ्ने वातावरण तयार पार्छ ।’ 

यस बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुलीको उचित व्यवस्थापन गर्न सरकारलाई आफूहरुले दबाब दिने पूर्व मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

वनकरिया हौँ भनेर हीनताबोध नगरौँ : निवर्तमान राज्यमन्त्री श्रेष्ठ

वाग्मती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफूलाई वनकरिया हौँ भनेर हीनताबोध नगर्न उनीहरूलाई आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘यो समुदायको विकास गर्न हामी लाग्छौँ । अब तपाईँहरू र हामी सबै एउटै हौँ, त्यसैले कुनै पनि काममा अग्रसर भएर लागौँ ।’ यस समुदायको विकासका लागि पालिका सरकार र प्रदेश सरकार मिलेर काम गर्ने श्रेष्ठले बताउनुभयो । हरेक समस्याको समाधान हुने भएकाले आयआर्जनमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

वनकरियाका समस्या बुझ्न गाउँमै आएका हौँ : प्रदेश सभा सदस्य चेपाङ

वाग्मती प्रदेश सभाका सदस्य सन्त चेपाङले वनकरियाका समस्या बुझ्नैका लागि आफूहरू गाउँमै आएको बताउनुभएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सीमान्तकृत लोपोन्मुख समुदायको समस्या बुझेर त्यहीअनुसार काम गरिने बताउनुभयो । 

आत्मनिर्भर बन्न लागौँ : प्रदेश सभा सदस्य ग्लान

​वाग्मती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले वनकरियाहरू पनि अब आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ ।

जीवन बाँच्नकै लागि सङ्घर्ष गरिने बताउँदै उहाँले भन्नुभयो, ‘आफैँ आत्मनिर्भर बन्नका लागि सोचौँ, तपाईँहरूले छिट्टै जग्गाको लालपुर्जा प्राप्त गर्नुहोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’ यही बस्ती व्यवस्थित गर्नका लागि आफूहरूले सहयोग गर्ने उहाँले बताउनुभयो । नागरिकले भनेको जस्तो कानुन तत्काल बनाउन नसक्दा समस्या भएको प्रदेश सभा सदस्य ग्लानले बताउनुभयो। 

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले यहाँको बस्तीलाई स्थायी गराउनका लागि सङ्घीय सरकारसँग पहल भइरहेको बताउनुभयो । मनहरीमा आठ सय परिवार सुकुम्बासी रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष ध्रुव खड्काले यस बस्तीका लागि सबै सांसदले ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै मनहरी ४ का वडा सदस्य विष्णु चेपाङले विद्यालय टाढा हुँदा ठूलो समस्या भोग्नुपरेको बताउनुभयो । 

कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोष वनकरियाले वर्षाैँदेखि जग्गाको उपभोग गर्दै आएको तर आफ्नो नाममा नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जग्गा छ, खेती गर्दै आएका छौँ, तरकारी पनि लगाएका छौं । तर, बारम्बार वन कार्यालयले बस्ती हटाउन लाग्दा हामी समस्यामा पर्ने गरेका छौँ । वर्षायाममा बाढी आएर भाग्नुपर्ने बाध्यता पनि छ ।’ 

स्थानीयवासी ठूलीमाया वनकरियाले आफूहरू पहिले जङ्गलका ओडारमा बसेको भए पनि अहिलेको पुस्तालाई यहीँ बस्ने वातावरण मिलाइदिन सांसदसँग माग गर्नुभयो । बिरामी हुँदा तत्काल एम्बुलेन्स आउन सक्ने सडक नहुँदा समस्या परेको उहाँले दुःखेसो पोख्नुभयो । 

अर्का स्थानीयवासी बुद्धराम प्रजाले यस क्षेत्रका हरेक घरधुरीका लागि सरकारले हेर्नुपर्ने बताउनुभयो । सरकारले यो बस्तीबाट हटाउन खोज्ने भन्दा पनि स्थायी रूपमा बसोबास गराउनुपर्ने स्थानीयवासी कान्छीमाया वनकरिया बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया