घर-घरमा धारा : हराउँदै ऐतिहासिक महत्त्वका कुवा र पँधेरा

 फागुन २४, २०७८ मंगलबार १३:२७:५२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको दोर्दी गाउँपालिका–१ भारते सिरबारीकी सावित्री अधिकारीलाई गाउँमा रहँदा पानीको लागि कुवा धाउनुपर्थ्यो । बिहानै उठेर एक गाग्री पानी लिन उहाँ गाउँमा रहेको सालघारी कुवामा पुग्नुहुन्थ्यो ।

१२ वर्षसम्म सिरबारीमै रहँदा प्रायः उहाँको पहिलो काम नै कुवा पुगेर पानी ल्याउनुहुन्थ्यो । ‘त्यो समयमा छिट्टै कुवामा नपुगे अरुले नै पानी लिएर गइसक्थे । त्यसैले समयमै कुवामा पुग्नुपर्थ्यो,’ उहाँले भन्नुभयो । उहाँको मात्र नभइ विगतमा ग्रामीण क्षेत्रमा रहेका अन्य महिलाहरूलाई पानीका लागि कुवा, धारा, पँधेरा, ढुङ्गेधारा धाउनुपर्ने बाध्यता थियो । दुःख थियो ।

दुःख भए तापनि दिदीबहिनी, साथीभाइ भेट्ने, भलाकुसारी गर्ने, मेलापातका कुरा गर्ने थलो थिए, गाउँमा रहेका कुवा, धारा, पँधेरा । ‘पानीकै लागि कुवा, पँधेरो धाउनुपर्थ्यो । दुःख थियो । तर दुःख भए तापनि दिदीबहिनी भेट्ने, भलाकुसारी गर्ने ठाउँ नै पानी पँधेराे थिए । रमाइलो हुन्थ्यो,’ अधिकारीले भन्नुभयो ।

तर अहिले गाउँगाउँमा सडक विस्तार, बसाइँसराइ, बदलिँदो आधुनिक जीवनशैली लगायत थुप्रै कारणले गाउँले जीवन, परिवेशसँग गाँसिएका परम्परागत तथा ऐतिहासिक सम्पदा गाउँका कुवा, पँधेरा, ढुङ्गेधारा हराउँदै जान थालेकोमा उहाँलाई नरमाइलो लाग्छ  ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै गाउँकै मानिसहरु पानीका लागि पँधेरा र ढुङ्गेधारा धाउनै छाडेका लमजुङका सुन्दरबजार नगरपालिका–९, भोटेओडार पैह्रेका ४८ वर्षका अमृत भुजेलले बताउनुभयो ।

विगतमा पानीको लागि कुवा, पँधेराे, ढुङ्गेधाराको भर पर्नुपर्थ्यो । ‘समयको क्रमसँगै नागरिकले पानीको माग गर्न थाले । गाउँका बीचमा सार्वजनिक धारा राख्न थालियो । बिस्तारै पछि मान्छेले घरघर हुँदै कोठाकोठामा पानीको धारा जोड्न थाले,’ उहाँले भन्नुभयो, ‘कुवा, पँधेराे धाउनै छाडे । संरक्षण नभएपछि अहिले ती सम्पदाहरु हराउँदै गए ।’

गाउँ/गाउँमा सडक सुविधा पुगेसँगै पक्की घर धमाधम निर्माण हुन थालेका छन् । घरमा धारामा पानी पुगेका छन् । घरभित्रै बाथरुम, शौचालय र भान्छामा नै पानीको धारा पुगेको छ । एक गाग्री पानीकै लागि घण्टौँको बाटो धाउनुपर्ने, धारापँधेरामा पालो पर्खनुपर्ने झन्झट अहिलेका पुस्तालाई छैन । समय र प्रविधिको विकाससँगै मानिसलाई सुख सुविधा भएको छ ।

ऐतिहासिक, सांस्कृतिक महत्त्वका सम्पदा जोगाउनु आवश्यक भएकाे तर ग्रामीण पहिचान र परिवेशसँग जोडिएका यस्ता सम्पदा हराउँदै गएका छन् । परम्परागत पँधेरा र ढुङ्गेधाराहरु संरक्षण गर्नुपर्ने, यसमा सबैको ध्यान जानुपर्ने लमजुङ भोटेओडारकी राधिका लामिछाने बताउनुहुन्छ ।

‘संरक्षण–संवर्द्धनकाे अभावमा हराउँदै गएका परम्परागत, सांस्कृतिक एवम् ऐतिहासिक, महत्त्वका कुवा, पँधेरा र ढुङ्गेधाराहरु जोगाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया