चारोले बलेको चुल्हो !

 फागुन १४, २०७८ शनिबार १४:१५:१६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

परेवालाई चारो हालेर कतिले धर्म प्राप्त गरे, कतिले शान्ति पाए वा आनन्द पाए त्यो उनै जानुन् तर, हनुमान ढोका परिसरमा परेवाले टिप्ने एक-एक दानाले सुनिता सुवेदी जस्ता करिब २७ जनाको घरको चुल्हो बलेको छ । 

उहाँले बेच्ने चारोमा धान, मकै, गहुँ लगायत खाद्य सामग्री मिसाइएको हुन्छ । उहाँले ती चारोहरु कालिमाटी तथा क्षेत्रपाटीबाट किनेर ल्याउनुहुन्छ । उहाँले किन्दा धान किलोको ३५ रुपैयाँ, गहुँ ४५ रुपैयाँ तथा मकैको सबैभन्दा धेरै ५० रुपैयाँ पर्छ । चारो बनाउँदा कुन कति मिसाउने भन्ने त्यस्तो केही छैन । यसो हेरेर यति भए ठीक हुन्छ भन्ने अनुभवका आधारमा मिसाउने गर्नुहुन्छ । मात्राको घटबढमा मूल्यले खासै अर्थ राख्दैन । 

दोलखा स्थायी घर भएकी सुवेदीले अहिले थानकोटमा दुःखजेलो एउटा घर बनाउनु भएको छ । २०७४ सालमा घडेरी किनेर उहाँले २०७६ सालमा बनाउन थाल्नु भएको घर अहिले पूरा भएको छ । त्यसभन्दा अगाडि भने उहाँ महिनाको ४ हजार रुपैयाँ तिरेर असनको डेरामा छोरीसहित बस्नुहुन्थ्यो । गाउँबाट आएको झण्डै १३/१४ वर्ष कोठामा बसेपछि अहिले भने उहाँ आफ्नै घरमा बस्न थाल्नु भएको हो । 

आमाले दिएको भैंसीको एउटा सानो पाडो हुर्काउँदै त्यसलाई ब्याउनी बनाएर उहाँले १५ हजार रुपैयाँमा बेचेपछि अहिले उहाँको करिब ८० लाख लागेको घरको सपना पूरा भएको हो । हुनत उहाँलाई पनि सुरुमा त्यो १५ हजार यसरी घरका लागि बीउ पुँजी होला भन्ने लागेको थिएन । 

भैंसी बेचेको १५ हजार रुपैयाँ ब्याजमा लगाउँदै र यता परेवालाई चारो बेचेको पैसा जम्मा गर्दै उहाँले थानकोटमा २०७४ सालमा साढे १६ लाख रुपैयाँमा तीन आना घडेरी किन्नुभयो । पछि बिस्तारै २०७६ सालमा जग हालेर घर बनाउँदै गएपछि ८० लाख रुपैयाँमा पूरा भयो । 

घर बनाउँदा लागेको ८० लाख मध्ये अहिले बैंकमा २० लाख रुपैयाँ ऋण छ । २० वर्षमा चुक्ता गर्ने गरी लिएको ऋणको अहिले मासिक २० हजार रुपैयाँ तिर्नुपर्छ । अहिले कमाइ कम हुन थालेपछि भने सुवेदीलाई यो ऋण कसरी चुक्ता गर्ने, चुक्ता गर्न सकिएला, नसकिएला अनि बैंकले घर लैजाने पो हो कि भन्ने चिन्ताले उहाँलाई राति राम्ररी निद्रा लाग्दैन ।

‘२० हजार त किस्ता बुझाउनु पर्छ । ५ हजारको व्यापार हुँदैन । रुनु न हाँस्नु भाछ । औडाहा बल्या छ’ यसो भन्दै गर्दा उहाँको मुहारमा ऋणको बोझ स्पष्ट देखिन्छ । 

बाँकी रहेको २० लाख रुपैयाँ कसरी तिर्ने भन्ने रनाहामा सुनिता बिहान ४ बजे झिसमिसेमै  ७ कक्षामा पढ्ने १२ वर्षकी छोरीलाई ओछ्यानमै छोडेर थानकोटबाट हनुमानढोका हानिनुहुन्छ । ढिलो हुँदा चारो खुवाउने कोही छुट्लान् र घरको ऋण तिर्न नसकिएला कि भन्ने चिन्ता छँदैछ । सँगै महिना मर्यो कि टुप्लुक्क आइपुग्ने मासिक किस्ताको जोहो कसरी गर्ने भन्ने मनमा पिरलो छँदैछ ।

थानकोटबाट कहिले गाडीले ढिलो गर्दा चारो हाल्न आउनेले २०, ५० र १ सयका साना प्लाष्टिकका बाटामा हातमा राखेर परेवालाई चारो हालेको दृष्य झलझली आउँछ । त्यो सँगै कुन चाहिँ प्लाष्टिकको बाटा छुट्दा कति नाफा छुटे भन्ने हिसाब मनले निरन्तर गर्न कहाँ छोड्छ र सुवेदीको । 

शनिबार भने उहाँको व्यापार धेरै हुन्छ । बिहानैदेखि मान्छेहरु आएर परेवालाई चारो ख्वाउँछन् । अन्य बारमा भने मंगलबार ठिकै हुन्छ । अन्य चाडपर्व र जात्रामा भने उहाँको चारो धेरै बिक्री हुन्छ । तर, यहाँ पनि नगर प्रहरीले छोड्दैनन । सामान फाल्ने, पोख्ने छँदैछ कुटेर जीउ नै थिलथिलो बनाइसकेको उहाँको गुनासो छ । 

थानकोटबाट बसले यहाँसम्मको भाडा ३० रुपैयाँ लिन्छ । यस हिसाबले जाँदा आउँदा उहाँको ६० रुपैयाँ खर्च हुन्छ । बिहानै हिँडे पनि खर्च जोगाउन उहाँ खाना भने घरबाटै हटकेसमा राखेर ल्याउनुहुन्छ । दिउँसोका खाजा भने यसै भन्ने छैन । चिया एक कप भने निरन्तर छ । अरुलाई २० रुपैयाँ पर्ने थर्मसको चिया उहाँलाई भने १० रुपैयाँमा दिन्छन् ।

अहिले ४७ वर्षकी सुवेदीको १३ वर्षको उमेरमा विवाह भएको हो । उहाँको श्रीमान भने इन्द्रचोकतिर भारी बोक्नुहुन्छ । ‘तर, आजसम्म बुढाको पैसा रातो हो कि सेतो देख्न पाएको छैन’ उहाँको आफ्नै दुखेसो छ । ‘खाली बाउआमा, दिदी बहिनी र आफन्तलाई मात्र ख्वाउँछन् । बिहे भएदेखिका वर्षमा अहिलेसम्म बुढाको भनेको मुश्किलले ६० हजार चलाइयो होला,’ औंला भाँच्दै उहाँ भन्नुहुन्छ, ‘त्यै भएर सुध्रन्छन् कि भनेर छोडपत्र समेत गरियो । तर, केही सीप लागेन । बस्न मकहाँ नै आउँछन् । जे गरे पनि सुध्रिएनन् ।’

पहिले सुवेदी खुलामञ्चमा बदाम बेच्नुहुन्थ्यो । उहाँले हनुमान ढोकामा यसरी चारो बेच्न थालेको भने झण्डै १२/१५ वर्ष भयो । चारो बाहेक काल भैरवको मन्दिर पनि सँगै रहेकोले उहाँ ग्रह शान्तिका नवग्रहका सामान पनि राख्नुहुन्छ कहिलेकाहीँ ।  

‘दिनमा करिब १२/१५ सय रुपैयाँको व्यापार हुन्छ । आज १२ सयको भयो अहिलेसम्म,’ उहाँ थैलीमा रहेको हजारको १ वटा तथा सयको दुई वटा नोट नै देखाउँदै भन्नुहुन्छ, ‘१५ सयको व्यापार गर्दा झण्डै ५ सय नाफा हुन्छ ।’ 

सामान्यतया लकडाउनको बेलामा त व्यापार नहुनुपर्ने हो । तर, अचम्म ! उहाँको भने यही लकडाउनकाबीच ३ लाख रुपैयाँको कमाइ भयो । ‘यसो फाट्टफुट्ट मान्छे आउँथे । एउटैले २/४ हजारको चारो हालेर जान्थे । चरालाई भने भोको राखेनन्’ लकडाउनको हिसाब भने बेग्लै छ सुवेदीको । चारो बेच्ने अरु सबै घर गएका कारण उहाँ एक्लै हुनुहुन्थ्यो । लकडाउनका बेलाको ३ लाख कमाइ हुनु पछाडिको कारण यही हो । 

बिहान ४ बजे घरबाट हिंडेपछि ६ बजेदेखि सुरु हुने उहाँको ‘ड्युटी’को बेलुकाको समय भने निश्चित छैन । गाडी नपाइने कारण ६ बज्दा नबज्दै उहाँ हिँडिसक्नुहुन्छ । 

थानकोटमा रहेको तीन आनामा बनेको साढे दुई तले घरमा भाडा नलागेपछि उहाँ अहिले थप तनावमा हुनुहुन्छ । कमाइको अन्य भरपर्दो आधार पनि छैन । यसकारण पनि बैंकको ब्याज तिर्न नसकेर बैंकले घर खान्छ भन्ने सबैभन्दा ठूलो पीडा छ उहाँलाई । त्यो पीडाको प्रष्ट रेखा उहाँको मुहारमा झल्किन्छ । भन्नुहुन्छ, ‘म त मरेर जाउँला तर, छोरीले ऋणमा बोक्ने भई घर, कसो गरौँ !’

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया