गाउँघरमा पाटी–पौवा हराउँदै

 फागुन २५, २०७८ बुधबार ९:४४:१७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – आवतजावतका लागि सडक सुविधा । खान, बस्नका लागि होटल, रेष्टुरेण्टकाे व्यवस्था हुँदैन थियाे विगतमा । त्यसैले पनि बटुवा, तीर्थयात्रीहरुको सहजताका लागि बाटो छेउछाउ पाटी–पौवा बनाइएका हुन्थे । 

दुई दशक अघि पाटी, पौवाको उपयोग र महत्व बेग्लै रहेको लमजुङ सुन्दरबजार नगरपालिका– ९, भोटेओडारका नारायणबहादुर कुँवर स्मरण गर्नुहुन्छ । ‘पहिले अहिलेझैँ सडक सुविधा थिएन । गास र बासका लागि होटल थिएनन् । बाटोका छेउछाउमा घरहरु पनि खासै हुन्थेनन्,’ कुँवर भन्नुहुन्छ, ‘त्यसैले बटुवाका लागि बेलुका खान र बस्न सहज होस् भनी पानीका सुविधा भएका ठाउँ नजिकै पाटी–पौवा बनाइएका हुन्थे । ऊबेला यसको छुट्टै महत्व थियो ।’

उहाँका अनुसार पौवा ठूला हुन्थे । विशेषगरी, पौवा झिंगटी र ढुंगाले छाइएका हुन्थे । पाटी खरले छाइएका हुन्थे । ‘ठूला–ठूला काठका चार वटा, ६ वटा खामा गाडेर आधा भाग तल खामा र आधा भाग माथि उठाइ धुरी छाइ पाटी बनाइएका हुन्थे । तल काठका फलेक छापिएका हुन्थे,’ ७४ वर्षीय कुवँरले भन्नुभयो, ‘आकाशबाट पानी आउँदा बुटवाहरु पाटीको तल्लो भागमा खाना पकाइ खान्थे । अरुबेला नजिकै रहेका धारा, कुवा नजिक गइ खाना पकाउँथे । खान्थे । खाना खाएपछि आगो निभाई आफूसँग ओढ्ने, ओछ्याउने जे छ, त्यही प्रयोग गरी पाटीमा बटुवा रात बिताउँथे ।’

मौलिक सम्पदा संकटमा    

समयक्रमसँगै अहिले पुराना पाटी पाैवाहरु हराउँदै गएका छन् । कित भित्किएर गए भने कितकाे संरक्षण हुन सकेकाे छैन । ती मौलिक ग्रामीण सम्पदा हराउँदै गएकोमा ७४ वर्षीय नारायणबहादुरलाई ‘नमज्जा’ लाग्छ । अहिले गाउँघरमा प्राय: सबै गाउँबस्तीमा समेत सडकको पहुँच पुगेको छ । सडक विस्तारसँगै विगतमा बुटवाहरुका लागि बनाइएका परम्परागत, ऐतिहासिक एवं सांस्कृतिक महत्वका ग्रामीण सम्पदा पाटी, पौवा नासिँदै गएका उहाँको बुझाइ छ । उहाँका अनुसार कहिँकतै रहेका पाटी, पौवा जीर्ण छन् । तिनको पनि संरक्षण हुन सकिरहेको छैन ।

उहाँका अनुसार लमजुङको सुन्दरबजार नगरपालिका–६, बरेटारस्थित अझै पनि पौवा छ । विगतमा भोटेओडार क्षेत्रको धारापानी, भुत्याहा, खत्रीठाँटी लगायतका क्षेत्रमा पनि पाटी थिए । खत्रीठाँटीमा रहेको पाटीको भने मर्मत–सम्भार गरिएको छ । जस्ताले छाइएको छ । पाटीमा मानिसलाई भेटघाट, भलाकुसारी गर्नका लागि सहज भएको उहाँले बताउनुभयो ।  

   
प्रतिक्षालय निर्माण तर झल्किँदैन मौलिकता 

पछिल्लो समय बढ्दो जनसंख्या, अव्यवस्थित बस्ती विकास, आधुनिक जीवनशैलीका साथै संरक्षण– संवर्द्धनमा ध्यान नपुगेका कारण परम्परागत कला, कौशल र मौलिक कलात्मक रुपमा बनाइएका सम्पदाहरु संकटको संघारमा पुगेका पाको पुस्ता बताउँछन् । पाटी, पौवा हराउँदै गएका छन् । तर शहरबजारमा यात्रुहरुका लागि ठाउँठाउँमा प्रतिक्षालय त बनाइएका छन् । तर तिनमा पाटी, पौवाको जस्तो मौलिकता भने नझल्किने कुवँर बताउनुहुन्छ ।

‘बजारी क्षेत्रमा ठाउँठाउँमा मानिसलाई एकछिन बस्न, गाडी कुर्न र गाडीबाट ओर्लन प्रतिक्षालय त बनाइएका छन् । तर यसमा मौलिकता भेटिँदैन,’ नारायणबहादुरले भन्नुभयो, ‘मौलिक परम्परागत संस्कृति जगेर्नामा अहिलेका युवालाई खासै चासो र चिन्ता छैन ।’ 

गाउँगाउँमा सडक विस्तारले तीव्रता पाएसँगै पछिल्लो सयम मौलिक परम्परागत, सम्पदा निकै न्यून मात्रामा देख्न पाइन्छ । ग्रामीण परिवेशको कुनै कालखण्डको इतिहासको साक्षी बनेर संरक्षणको पखाईमा बसेका यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । 

‘मौलिक सम्पदाको महत्व बुझ्न जरुरी’ 

हाम्रा अग्रज पुस्ताले सिर्जित गरेका यस्ता मौलिक विषय, सम्पदाको गाम्भीर्यता र महत्वलाई आत्मसत गरी यिनको संरक्षणमा सबै पक्ष जुट्नु जरुरी रहेको लमजुङ सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्र बताउनुहुन्छ ।

‘हामीले हाम्रा पुस्ताले सिर्जित गरेका विषय, सम्पदा र योगदानलाई कदापी भुल्नु हुँदैन । तिनको महत्वलाई बुझेर संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ,’ नगरप्रमुख मिश्रले भन्नुभयो । 

समय र प्रविधिको अनेकन विकासले मानिसको भौतिक जीवन सरल, सहज त बनाएको छ । तर पनि भावी पुस्ताका लागि भए पनि नेपालीपन बोकेका, ग्रामीण परिवेश झल्किने, समेटिने यस्ता ग्रामीण सम्पदाको संरक्षण गर्नु आवश्यक छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया