भरतपुर महानगरपालिका : एमालेको मिसन, कांग्रेसको बटम लाइन, माओवादीको प्रतिष्ठा

 चैत २५, २०७८ शुक्रबार ८:५६:१८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - स्थानीय तहको चुनाव नजिकिँदै जाँदा चितवनको भरतपुर महानगरपालिकामा चुनावी चहलपहल बढेको छ । सात वटा स्थानीय तह रहेको चितवनमा सबैभन्दा बढी चर्चा भरतपुरको बारेमा छ । अहिले दलहरुको प्रतिष्ठाको लडाइँ चितवनको भरतपुर महानगरमा केन्द्रित छ ।

कसलाई उम्मेदवार गराउने भन्ने टुङ्गो नलागे पनि दलहरू चुनावी प्रचारप्रसार अभियानमा लागिसकेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को गृहनगर भएकाले पनि भरतपुरलाई बढी चासोका साथ हेरिएको छ । भरतपुरकी बहालवाला मेयर रेणु दाहाल प्रचण्डकै छोरी हुनुहुन्छ ।

सत्ता गठबन्धन सहयात्री नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलको गृहकार्य अगाडि बढिसक्दा भरतपुरका विषयमा निर्णय लिन निकै सकस पर्ने देखिएको छ ।

स्थानीय तह चुनावमा अघिल्लोपटक (२०७४ मा) नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) की रेणु दाहाललाई सघाएपछि चर्चामा आएको भरतपुर यसपालि समेत गठबन्धनकै कारण चर्चामा रहेको छ । मतपत्र च्यातेपछि फेरि चुनाव हुँदा २०७४ मा रेणु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित हुनुभएको थियो । 

केन्द्रमा गठबन्धन भए पनि भरतपुर आफ्नो दलले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेस र माओवादीको अडानले थप चासो र रोचक बन्दै गएको छ । 

कांग्रेसको बटम लाइन

गठबन्धनमा रहेको नेपाली कांग्रेसले भरतपुर महानगरमा आफैँले नेतृत्व गर्न पाउनुपर्नेमा दबाब सिर्जना गरेको छ । नेपाली कांग्रेस चितवनले ‘घरघर जाऔंँ कांग्रेस जिताऔँ’ अभियानलाई तीव्र बनाएको छ । पछिल्लो जिल्ला कार्यसमितिको बैठक बसेर गठबन्धन स्वीकार्य हुने तर भरतपुरको मेयरमा आफ्नो दाबी प्रष्ट रहेको कांग्रेसको धारणा छ । एक्लै चुनावमा जान सक्नेगरी चितवन कांग्रेसले बलियो संरचना बनाएको बताउँदै आएको छ । 

चितवनमा गठबन्धनको चुनावी संयन्त्रको बैठक नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेर जिल्लाभर चुनावी तालमेल गर्ने निर्णय भएको छ । तर, भरतपुरका सवालमा दुवै दलले दाबी छाडेका छैनन् ।

भरतपुर महानगरको मेयरमा आफूहरूले कुनै पनि हालतमा दाबी नछाड्ने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउँदै आउनुभएको छ । केन्द्रको निर्णायानुसार जिल्लाका सातै स्थानीय तहमा तालमेल गर्ने तर भरतपुर महानगरपालिकाको मेयर नछाड्ने कांग्रेस चितवनको अडान रहेको छ । 

अघिल्लोपटक माओवादीलाई सघाएकाले यसपालि आफूहरूलाई सघाउनुपर्ने चितवन कांग्रेसको दाबी छ  । महानगरमा माओवादीले कांग्रेसलाई सघाएमा बाँकी विषयमा खुला छलफल गर्न तयार रहेको कांग्रेसका नेताहरुले बताउँदै आएका छन् । भरतपुर महानगरपालिका कांग्रेसको बटमलाइन नै बनाएको छ । 

आफ्नै सुरमा एमाले 

कांग्रेस र माओवादी मिलेर गएको खण्डमा समेत आफूहरूले कडा टक्कर दिने चितवनका एमाले नेताहरूको दाबी छ । अघिल्लोपटक कांग्रेस र माओवादी तालमेल हुँदा बेहोरेको झिनो हारलाई उल्ट्याउन सकिनेमा एमाले नेताहरू आशावादी देखिन्छन् ।

नेकपा एमाले चितवन पनि घरदैलाे अभियानमै छ । फागुन १३ गते निर्णय गरेर २१ गतेदेखि ‘घरघरमा एमाले टोल–टोलमा एमाले जनताको सुख र दु:खमा नेकपा एमाले’ नारासहित सक्रिय रहेको एमालेले बताएको छ ।  

महानगरमा जितैरे छाड्ने रणनीतिमा एमाले लागेको छ । २०७४ को स्थानीय चुनावमा एमाले उम्मेदवार देवी ज्ञवाली र  कांग्रेसको सहयोगमा उम्मेदवार बन्नुभएकी माओवादीकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला गणनाका क्रममा मतपत्र नच्यातिएको भए आफूहरूको जित सुनिश्चित रहेको दाबी एमाले नेता/कार्यकर्ताले गर्ने गरेका छन् ।

भरतपुर–१९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो । २९ मध्ये २७ वडाको मतगणना सकिएको थियो । १९ नम्बरको गणना जारी रहँदा  ज्ञवाली ७ सय ३३ मतले अगाडि रहनुभएको थियो ।

तुलनात्मक रूपमा कांग्रेस बलियो मानिएको भरतपुर– १९ मा माओवादीलाई अपेक्षित मत नआएपछि नियोजित रूपमा मतपत्र च्यातेको आरोप एमाले नेताहरूको छ । पुनः मतदानपछि दाहाल महानगरको प्रमुखमा विजयी हुनुभएको थियो ।

माओवादीको प्रतिष्ठा

भरतपुर सङ्घीय संसदमा माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधित्व गरिरहेको क्षेत्र हो । त्यसैले यहाँ माओवादीको लागि पनि प्रतिष्ठाको सवाल छ र प्रतिष्ठा जोगाउनकै लागि माओवादीले प्रचण्ड पुत्री रेणु दाहाललाई नै मेयर बनाउने प्रयास गरिरहेको छ । रेणुलाई मेयरमा जिताउन सके आफ्नो राजनीतिक प्रभाव कायम रहने र सङ्घीय चुनावमा प्रचण्डलाई जित्न सहज हुने माओवादीको बुझाइ छ ।

भरतपुर महानगरपालिकाको मेयरमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः आफ्नै छोरी रेणु दाहाललाई दोहोर्याउन चाहानुभएको छ । अहिले महानगरको नेतृत्व सम्हालिरहेको दल नेकपा (माओवादी केन्द्र)ले  भरतपुर महानगरपालिका आफूहरूका लागि प्रतिष्ठाको विषय भएको बताउँछ ।

आफ्नो पार्टीको नेतृत्वमा सुरूआत गरेको विकासको कामलाई पूर्णता दिने विषय यससँग जोडिएकाे पनि माओवादी केन्द्रले बताउँदै आएको छ । 

३५ हजार मतदाता थपिए  

भरतपुर महानगरमा यसपटक ३५ हजार ४७८ जना मतदाता थपिएका छन् । गएको स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए । यसपटक यो सङ्ख्या बढेर १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ ।

महानगरमा पुरुष मतदाताको सङ्ख्या ८८ हजार ८ सय ८४ र महिला मतदाताको सङ्ख्या ९६ हजार ८ सय ६७ रहेको छ । गएको चुनावमा यहाँ १ लाख ५० हजार २७४ जना मतदाता थिए । तीमध्ये १ लाख १२ हजार ८९७ जनाले मतदान गरेका थिए । यसमा एक हजार ४२४ मत बदर भएको थियो ।

कांग्रेसको सहयोगमा माओवादी केन्द्रकी रेनु दाहाल ४३ हजार १२७ मत प्राप्त गरेर विजयी हुनुभएको थियो । प्रतिद्वन्द्वी देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो । भरतपुरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वटामा कांग्रेस र तीन वटामा माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

त्यतिखेर वडाध्यक्षका उम्मेदवारले पाएको मतको हिसाबमा नेपाली कांग्रेसले सबैभन्दा अगाडि थियो । कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३८ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवारहरूले ३७ हजार १९५ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेदवारले २१ हजार ११५ मत ल्याएका थिए ।

यसरी हेर्दा गठबन्धनका दुई दलले मात्रै गएको चुनावमा ५९ हजार २५४ मत प्राप्त गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया