गठबन्धनका उम्मेदवार छनाेटको विषयले पेचिलो बन्दै भरतपुर महानगर

 बैशाख ४, २०७९ आइतबार १०:९:५२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको भरतपुर महानगरपालिका प्रमुखको लागि गठबन्धनमा उम्मेदवार छनाेटको विषयले पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन भए पनि भरतपुर आफ्नो दलले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेस र माओवादीको आआफ्नै अडानले थप रोचक बन्दै गएको छ । 

सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन् । जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन् ।

सात वटा पालिका रहेको चितवनमा  सबैभन्दा बढी चर्चा भरतपुरको बारेमा छ । अहिले दलहरुको प्रतिष्ठाको लडाइँ चितवनको भरतपुर महानगरमा केन्द्रित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को गृहनगर भएकाले पनि भरतपुरलाई बढी चासोका साथ हेरिएको छ । भरतपुरकी बहालवाला मेयर रेणु दाहाल प्रचण्डकै छोरी हुनुहुन्छ।

गएको बुधवारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए । उनीहरूले त्यो निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए ।

नेपाली कांग्रेस पार्टी माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेस नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले शनिवार एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्थानीय अगुवा प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको छ।पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको कँडेलले बताउनुभएको छ । पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको उनीहरुको आरोप छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा महानगर प्रमुखमा दाबी रहेको छ ।  नेकपा माओवादी केन्द्रले अहिले प्रमुख रहनुभएको रेणु दाहाललाई नै महानगर प्रमुख बनाउनुपर्ने माग राखेको छ । नेपाली कांग्रेसले भने विगतमा माओवादीको उम्मेदवारलाई आफूहरुले सहयोग गरेकोले यस पटक कांग्रेसलाई प्रमुख दिनुपर्ने अडान राखिरहेको छ । कांग्रेसका जिल्ला तहमा रहेका नेता कार्यकर्ताले कांग्रेसले महानगर प्रमुख नपाए स्वीकार्य नहुने बताउँदै आएका छन् ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आउँदाे पालिका चुनावमा नतिजा प्रतिकूल आए आफूहरूले जिम्मा नलिने समेत बताउँदै आउनुभएको छ । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताउनुभएको छ । 

गएको शुक्रवार चितवन आउनुभएको कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)लाई छाड्ने गरी तालमेल हुने बताउनुभएको थियो । भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने जिल्ला सभापति खनालले बताउँदै आउनुभएको छ । 

चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवा र अन्य केन्द्रीय नेताहरुलाई जानकारी गराइसकेको छ । समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेर अघि बढ्ने कुरामा तयार भए पनि नाजायज तालमेल स्वीकार गर्न नसकिने चितवन कांग्रेसले बताउँदै आएको छ । 

सत्ता गठबन्धन सहयात्री नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलको गृहकार्य अगाडि बढिसक्दा भरतपुरका विषयमा निर्णय लिन निकै सकस परेको देखिएको छ ।

नेकपा एमाले चितवनले उम्मेदवार छनाेट गरिसकेको छ । एमालेका प्रभावशाली नेता विजय सुवेदीलाई महानगर प्रमुखको उम्मेदवार बनाएर चुनावी प्रचार सुरु गरिसकेको छ ।  कांग्रेस र माओवादी मिलेर गएको खण्डमा समेत आफूहरूले कडा टक्कर दिने चितवनका एमाले नेताहरूको दाबी छ । अघिल्लोपटक कांग्रेस र माओवादी तालमेल हुँदा बेहोरेको झिनो हारलाई उल्ट्याउन सकिनेमा एमाले नेताहरू आत्मविश्वासी देखिन्छन् ।

नेकपा एमाले चितवन पनि घरदैलो अभियानमै छ । फागुन २१ गतेदेखि ‘घरघरमा एमाले टोल–टोलमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले’ नारा सहित सक्रिय रहेको एमालेले बताएको छ ।  

महानगरमा जितैरे छाड्ने रणनीतिमा एमाले लागेको छ । २०७४ को पालिका चुनावमा एमाले उम्मेदवार देवी ज्ञवाली र  कांग्रेसको सहयोगमा उम्मेदवारी बन्नुभएका माओवादीकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला गणनाका क्रममा मतपत्र नच्यातिएको भए आफूहरूको जित सुनिश्चित रहेको दाबी एमाले नेता/कार्यकर्ताले गर्ने गरेका छन् ।

भरतपुर–१९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो । २९ मध्ये २७ वडाको मतगणना सकिएको थियो । १९ नम्बरको गणना जारी रहँदा  ज्ञवाली ७ सय ३३ मतले अगाडि रहनुभएको थियो ।

तुलनात्मक रूपमा कांग्रेस बलियो मानिएको भरतपुर–१९ मा माओवादीलाई अपेक्षित मत नआएपछि नियोजित रूपमा मतपत्र च्यातेको आरोप एमाले नेताहरूको छ । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः मतदान गरियो । पुनः मतदानपछि दाहाल महानगरको प्रमुखमा विजयी हुनुभएको थियो । 

भरतपुर सङ्घीय संसदमा माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधित्व गरिरहेको क्षेत्र हो । त्यसैले यहाँ माओवादीको लागि पनि प्रतिष्ठाको सवाल छ र प्रतिष्ठा जोगाउनकै लागि माओवादीले प्रचण्ड पुत्री रेणु दाहाललाई नै मेयर बनाउने प्रयास गरिरहेको छ । रेणुलाई मेयरमा जिताउन सके आफ्नो राजनीतिक प्रभाव कायम रहने र सङ्घीय चुनावमा प्रचण्डलाई जित्न सहज हुने माओवादीको बुझाइ छ ।

अहिले महानगरको नेतृत्व सम्हालिरहेको दल नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिका आफूहरूका लागि प्रतिष्ठाको विषय भएको बताउँदै आएको छ । आफ्नो पार्टीको नेतृत्वमा सुरूआत गरेको विकासको कामलाई पूर्णता दिने विषय पनि यससँग जोडिएकोले माओवादी केन्द्रले बताउँदै आएको छ । 

गएको पालिका चुनावमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए । यसपटक यो सङ्ख्या बढेर १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ । महानगरमा पुरुष मतदाताको सङ्ख्या ८८ हजार ८ सय ८४ र महिला मतदाताको सङ्ख्या ९६ हजार ८ सय ६७ रहेको छ । गएको चुनावमा यहाँ १ लाख ५० हजार २७४ जना मतदाता थिए । तीमध्ये १ लाख १२ हजार ८९७ जनाले मतदान गरेका थिए । यसमा एक हजार ४२४ मत बदर भएको थियो ।

कांग्रेसको सहयोगमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत प्राप्त गरेर विजयी भएकी हुनुभएको थियो ।  प्रतिद्वन्द्वी देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो । भरतपुरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वटामा कांग्रेस र तीन वटामा माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । त्यतिखेर वडाध्यक्षका उम्मेदवारले पाएको मतको हिसाबमा नेपाली कांग्रेस सबैभन्दा अगाडि थियो ।

कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३८ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवारहरूले ३७ हजार १९५ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेदवारले २१ हजार ११५ मत ल्याएका थिए । यसरी हेर्दा गठबन्धनका दुई दलले मात्रै गएको चुनावमा ५९ हजार २५४ मत प्राप्त गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया