साउदीमा ८ वर्षदेखि अचेत अवस्थामा उपचाररत बाटुलीलाई स्वदेश ल्याइयो

 भदौ ३०, २०७९ बिहिबार १०:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा ८ वर्षदेखि अचेत अवस्थामा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका २ की बाटुली सुनारलाई दूतावासको सहयोग र समन्वयमा नेपाल ल्याइएको छ ।

आफूले काम गर्ने घरको माथिल्लो तलाको भर्‍याङबाट तल खस्दा गम्भीर घाइते हुनुभएकी बाटुलीलाई अस्पतालले परिवारको साथमा राखेर उपचार गर्दा छिटो निको हुन सक्ने भन्दै स्वदेश लैजान भनेपछि दूतावासले परिवार र साउदीको विभिन्न निकायसँग समन्वय गरी नेपाल पठाएको जनाएको छ । 

रोजगारीका लागि सन् २०१४ मा साउदी पुग्नुभएकी बाटुली त्यहाँ पुगेको ६ महिनामा नै दुर्घटनामा पर्नुभएको थियो । 

घरेलु कामदारका रूपमा सुरुमा कुवेत गएको भए पनि त्यहाँबाट उहाँलाई गैर कानुनी रूपमा साउदीमा लगिएको दूतावासले जनाएको छ । साउदीमा काम गर्ने क्रममा घरको माथिल्लो तल्लाको भर्‍याङबाट चिप्लिएर तल खस्दा बाटुलीको टाउको गम्भीर चोट लागेको थियो । जसको कारण उहाँ अचेत अवस्थामा पुग्नुभएको थियो ।

तर करिब ८ वर्ष उपचार गर्दा पनि उहाँको स्वास्थ्यमा खासै सुधार नआएको दूतावासले उल्लेख गरेको छ । दूतावासका अनुसार, अस्पतालमा राखेर उपचार गर्दा खासै सुधार नआएपछि डाक्टरले नै परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुन सक्ने भन्दै नेपाल पठाउन अनुरोध गरेका थिए ।

नेपाल पठाउन अस्पतालले निरन्तर ताकेता गरे पनि पठाउन नसकेको र यस पटक भने परिवार पनि बिरामीको जिम्मा लिन तयार भएकाले पठाउन सहज भएको दूतावासले जनाएको छ ।

दूतावासले नै बाटुलीको आवश्यक कागजात तयार गर्नुका साथै  उहाँको एक्जिट भिसाका लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

यसका साथै बाटुलीलाई नेपाल ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेटचर राख्ने व्यवस्था गर्न र स्ट्रेटचर बापतको खर्च भने वैदेशिक रोजगार बोर्डले व्यहोरेको हो । बाटुली गएको आइतबार नेपाल आइपुग्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया