वैदेशिक रोजगारीमा जाने महिलाको सेवा र सुरक्षा आवश्यक

 कात्तिक २२, २०७९ मंगलबार १६:४१:२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पोखरा – रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ ।

पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले यो विषयमा जोड दिएका हुन् ।     

वैदेशिक रोजगारका लागि युएई र कतार गएर फर्किनुभएकी देवी सुनारले वैदेशिक रोजगार अवसरसँगै चुनौती भएकाले यसमा देखिएका समस्याको समाधानमा आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा निकै दुःख भोग्नु परेको अनुभव उहाँले सुनाउनुभयो ।     

कुवेतबाट फर्कनुभएकी पार्वती दमैले आफूलाई वैदेशिक रोजगारसम्बन्धी नीति नियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाउनुभयो । 

घरेलु कामदारको रूपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उहाँले सरकारका कतिपय नीति नियमबारे आफूहरू अञ्जान रहँदा पनि पीडित हुनुपरेको उहाँको भनाइ थियो । 

उहाँले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडी मुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहनसमेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोख्नुभयो ।     

जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले हरेक क्षेत्रमा समस्या देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीति नियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको औँल्याउनुभयो ।     

उहाँले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भए पनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने भनाइ राख्नुभयो ।

शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले सरकारले निषेध गरेका बाहेकका देशमा जाँदा श्रम स्वीकृति लिएर सीप सिकेर जाँदा समस्या कम हुने बताउनुभयो । उहाँले समस्यामाथि छलफल र बहस गरेपछि समाधानको उपाय निस्कने जनाउँदै महिला आयोगको पहिलो पटक वैदेशिक रोजगारमा महिलाको सवाललाई प्राथमिकता दिएर सार्वजनिक सुनुवाइ गरेकोमा प्रशंसा गर्नुभयो ।     

त्यसै गरी सुरक्षित आप्रवासन सामी कार्यक्रम गण्डकीका प्रमुख उमा शर्माले वैदेशिक रोजगारीमा गएका महिलाप्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको र सकारात्मक भन्दा नकारात्मक विषयले बढी प्राथमिकता पाउँदा वैदेशिक रोजगारमा गएर आएका महिला समाजमा खुल्न नसकेको बताउनुभयो ।

आयोगका उपसचिव सीता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक भएसँगै आयोगले २१ वर्षको इतिहासमा पहिलो पटक वैदेशिक रोजगार र महिलाको सवाललाई चासो दिएर कार्यक्रम गरेको बताउनुभयो । 

आयोगका अध्यक्ष कमला पराजुलीले महिला अधिकारको समग्र विकास गरी लैङ्गिक न्याय कायम गर्न बनेको आयोगले पछिल्लो समय वैदेशिक रोजगारमा रहेका महिलामाथि हुने हिंसाका धेरै घटना बाहिर आएको र यसलाई न्यूनीकरण गर्नका लागि आज उठेका सवाल र सुझावले आगामी रणनीतिक योजना बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो ।     

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया