इन्टरपोलका अध्यक्ष होङवेईले गरे राजीनामा, बेपत्ता प्रकरणले चीनलाई ठूलो क्षति पुग्न सक्ने

 असोज २२, २०७५ सोमबार १५:४१:२२ | रासस
unn.prixa.net

गएको महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनियाँ अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनियाँ कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । 

विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ । फ्रान्सेली अधिकारीहरुले गएको शुक्रबार मात्र मेङ चीनमा ‘बेपत्ता’ भएको समाचार सार्वजनिक गरेका थिए । 

अन्तर्राष्ट्रिय संगठित अपराधीहरुको खोजतलास, विश्लेषण र विश्वका देशहरुका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा रहेको छ । मेङ त्यही इन्टरपोलका अध्यक्ष हुन् । 

विश्लेषकहरुले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले व्यापक नैराश्यता छाउने र विश्वसनीयतामा कमी आउने बताएका छन् । 

मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताउनुभयो । 

चीनको सार्वजनिक सेवामा कार्यरत व्यक्तिमाथि लाग्ने भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाब पश्चात एक वक्तव्य जारी गर्दैै भनेको छ, ‘मेङमाथि कानुन उल्लङ्घनको आरोपमा अनुसन्धान भइरहेको छ ।’

त्यसलगत्तै, इन्टरपोलले मेङले ‘तत्काल लागू हुनेगरी’ दिएको राजीनामा प्राप्त भएको जनाएको छ । 

चीनमा उच्च पदस्थ व्यक्ति बेपत्ता भएको यो पछिल्लो घटना हो । चीनमा उच्च सरकारी अधिकारीहरु, अर्बपति व्यापारीहरु र लोकप्रिय व्यक्तिहरु पनि हप्तौं वा महिनौं बेपत्ता बनाइन्छन् । 

उनीहरु पुनः देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ । 

इन्टरपोलमा पहिलो चिनियाँ अध्यक्ष रहेका मेङ होङवेई सेप्टेम्बर २५ मा चीन जानुअघि फ्रान्सको लियोनमा सार्वजनिक कार्यक्रममा देखा पर्नु भएको थियो । 

इन्टरपोलका दैनिक कार्यसञ्चालनको रेखदेख गर्नुहुने महासचिव जुर्गेन स्टोकले चीनसँग मेङको अवस्थाका बारेमा जानकारी गराउन इन्टरपोलले औपचारिक आग्रह गरेको बताउनुभएको थियो । 

मानव अधिकार समूहहरुको चौतर्फी विरोधबीच मेङ इन्टरपोलको अध्यक्षमा सन् २०१६ मा नियुक्त हुनुभएको थियो । विश्व मामिलामा चीनको प्रभाव बढाउने क्रममा चीनका राष्ट्रपतिको यो एउटा महत्वपूर्ण विजयका रुपमा हेरिएको थियो । 

तर मेङको बेपत्ता प्रकरणले चीनलाई ठूलै क्षति हुन सक्नेछ । 

दुबईमा आगामी नोभेम्बर १८ देखि २१ मा हुने इन्टरपोलको महासभाले अध्यक्षको बाँकी दुई वर्षे पदावधिका लागि नयाँ अध्यक्ष निर्वाचित गर्नेछ । 

राष्ट्रपति सी जिनपिङले मेङलाई सन् २००४ मा आफ्ना पार्टीभित्रका विपक्षीलाई पाखा लगाउँदै उपसुरक्षा मन्त्री बनाउनु भएको थियो । मेङलाई अरु पनि संवेदनशील कार्यहरुको जिम्मेवारी दिइएको थियो । राष्ट्रपतिका विश्वासपात्र मेङले प्रतिआतङ्कवादी विभागको पनि जिम्मेवारी पाउनुभएको थियो । 

मेङलाई इन्टरपोलको अध्यक्ष बनाउन सकिए चीनबाट पलायन भएर विदेशमा आश्रय लिइबसेका व्यक्तिहरु चीन लैजाने मद्दत पुग्ने भित्री मनसाय चीनको रहेको भन्दै आलोचना समेत भएको थियो । 

इन्टरपोलले त्यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ । अध्यक्षले संस्थाको दैनिक कारबाहीमा कुनै प्रभाव नपार्ने इन्टरपोलले स्पष्ट गरेको छ । 

चीनले विदेशमा लुकेर बसेका भ्रष्ट अधिकारीहरुलाई पक्राउ गर्न अपरेसन फक्स हन्ट समेत सञ्चालन गरिआएको छ । ती व्यक्तिलाई पक्राउ गर्न चिनियाँ अधिकारीहरुले गोप्य रुपमा कार्य गरिरहेको बताइन्छ । 

चीनले हाल ४४ जना त्यस्तै व्यक्तिलाई पक्राउ गर्न ‘रेड नोटिस’ जारी गरेको छ । उनीहरुमाथि हत्या, लागूऔषधको तस्करी लगायतका आरोप लागेका छन् । 

मेङको कार्यकालमा इन्टरपोलले विदेशमा लुकेर बसेका चिनीया अर्बपति गुओ वेनगुईमाथि रेड नोटिस जारी गरेको छ । गुओले चीनका उच्चपदस्थ व्यक्तिले गरेका भ्रष्टाचारको पोल खोल्ने चेतावनी दिइआएका छन् ।
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया