हिमालको काखैमा पुगे लमजुङका घुम्ती गोठ

 जेठ ४, २०८० बिहिबार २०:३८:२४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका घुम्ती गोठ हिमालको काखैमा पुगेका छन् । गर्मी लागेसँगै लेक उक्लन थालेका घुम्ती गोठहरू अहिले हिमालको काखैमा पुगेका हुन् ।

यो समयमा बेसीमा गर्मी हुनुका साथै पशु आहारा (घाँस) को समेत अभाव हुने र लेकमा पर्याप्त घाँस हुने भएकाले किसानले अहिले घुम्ती गोठ माथिल्लो क्षेत्रमा सारिसकेका र गोठ हिमालको काखैमा पुगेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका गोठालाहरू बर्सेनि बौद्ध, माछापुच्छ्रे, मनास्लु, हिमचुली, लमजुङ हिमाललगायतका थुप्रै हिमालको काखैमा पुग्छन् । घुम्ती भेडीगोठ चार हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाईभैँसी गोठ भने तीन हजार मिटर उचाइसम्म मात्रै पुग्छन् ।

डा. श्रेष्ठका अनुसार लेक सारिएका घुम्ती गोठ भदौदेखि कात्तिक मसान्तसम्ममा बेसी झरिसक्छन् । चिसो मौसममा माथि (लेक) मा चरन क्षेत्रकाे अभाव हुने भएकाले त्याे समयमा भेडीगोठ बेसी सारिन्छन् । ‘गर्मी मौसममा भेडीगोठ लेक उक्लन्छन् । चिसोमा भेडीगोठ बेसी झर्छन्’, उहाँले भन्नुभयो ।

परम्परागतरूपमा घुम्ती भेडीगोठमा भेडा पाल्ने परम्परा लमजुङमा अझै कायमै छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भूलभूले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरीलगायतका ठाउँमा घुम्ती भेडीगोठ रहेका छन् ।

डा. श्रेष्ठका अनुसार लमजुङमा ९० वटा घुम्ती भेडीगोठ रहेका छन् । ती भेठीगोठमा झन्डै १५ हजार 'वरुवाल' जातको भेडा रहेका छन् भने झन्डै छ हजार 'सिन्हाल' जातका बाख्रा पालिएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया