लमजुङमा मकै उत्पादन घट्दो : क्षेत्रविस्तार र उत्पादन बढाउने प्रयास

 असार २३, २०८० शनिबार १६:१९:३९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा बर्सेनि मकै उत्पादन घट्दै गएको छ । जिल्लामा बर्सेनि मकै खेतीको क्षेत्रविस्तार घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो ।

युवाशक्ति विदेश पलायन हुनु, गाउँबाट शहरबजार बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनुका साथै खेतबारीमा लगाइएको मकै खेतीमा बाँदरले सताउने गरेकाले पनि किसानको आकर्षण खासै बढ्न नसकेकाे कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो।

‘युवाशक्ति विदेश भासिएका छन् । गाउँघरमा काम गर्ने मान्छेको अभाव छ । खेतीयोग्य जमिन बाँझै छन्,’ उहाँले भन्नुभयो, ‘बाँदको हैरानीका कारण पनि मकै खेतीमा किसानको आकर्षण बढ्न सकिरहेको छैन ।’

विगतमा पशुपालन गर्ने किसानको संख्या धेरै थियो । पशु आहाराका लागि मकै खेती गरिन्थ्यो । तर पछिल्लो समय पशुपालन गर्ने किसानको सङ्ख्यामा कमी भएकाले पनि मकै खेती गर्ने किसानको सङ्ख्या तुलनात्मक रुपमा कम छ । उहाँका अनुसार गएकाे वर्ष जिल्लामा २२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा ४८ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो ।

यसवर्ष मकै खेतीको उत्पादन र उत्पादकत्व पत्ता लगाउनका लागि जिल्लाका विभिन्न ५० ठाउँमा बाली कटानी भइरहेको उहाँले बताउनुभयो । बाँझो जमिनको उपयोगका साथै उत्पादन वृद्धिका लागि मकै खेतीमा किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । उहाँका अनुसार जिल्लाको मध्यनेपाल नगरपालिकाकाे जीता, कल्याङ्बेसी, पैरावनमा मकैकाे बिज वृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ । यस्तै, सुन्दरबजार नगरपालिकाको मजुवाफाँट, मर्स्याङ्दी गाउँपालिकाको बस्नेतफाँट, मध्यनेपाल नगरपालिकाको करापुकोटमा मकै प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको छ ।

जिल्लाका किसानहरुले रामपुर कम्पोजिट, अरुण–२, मनकामना–३ लगायतका जातका मकै लगाउँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया