लमजुङका किसानले अलैँची बेचेर कमाए २४ करोड रुपैयाँ

 मंसिर ९, २०८० शनिबार २०:८:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – यस वर्ष अलैँची बिक्रीबाट लमजुङका  किसानले २४ कराेड रुपैयाँ आम्दानी गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको हो । उहाँका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट त्यति रकम आम्दानी भएको हो । गएको वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो ।

उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका हुन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, क्वलहोसोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिकाका साथै बेसीसहर नगरपालिका र राइनास नगरपालिकाका केही क्षेत्रमा अलैँचीको व्यावसायिक खेती हुुँदै आएको छ ।

अहिले जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ । यहाँका किसानले रामसाइ, गोलसाइ, भर्लाङ्गे जातका अलैँची लगाउँदै आएका छन् । पहाडी जिल्ला लमजुङमा उत्पादित अलैँचीको माग उच्च छ । तुलनात्मक रुपमा यहाँ उत्पादित अलैँची गुणस्तरीय रहेकाले बजारमा माग उच्च हुने गरेको हो ।

उत्पादित अलैँची टिप्ने, सुकाउने कार्यका साथै भण्डारणमा स्थानीय किसानले उचित ध्यान दिइ गुणस्तर कायम गरेकाले लमजुङमा उत्पादित अलैँचीको बजारमा माग उच्च हुने हुनुका साथै राम्रै मूल्यमा बिक्री हुने गरेको अलैँची जोन लमजुङका अध्यक्ष एवम् अलैँची उत्पादक किसान सोमबहादुर तामाङले बताउनुभयो ।

‘अहिले किसानले अलैँचीको गुणस्तरमा ध्यान दिएका छन् । यहाँ रातो रंगको अलैँची उत्पादन हुने गर्छ । गुणस्तरका साथै रंगका कारण पनि लमजुङको अलैँचीको माग बढि हुने गरेको छ । अन्य ठाउँकोे भन्दा यहाँको अलैँचीले राम्रो मूल्य पाएको छ,’ उहाँले भन्नुभयो ।  

अलैँचीको भाउ बढ्दा किसान हर्षित

अहिले अलैँची खेतीबाट किसानले राम्रो आर्जन गरिरहेका छन् । अलैँचीको मूल्यमा आउने उतारचढावका कारण पछिल्लो समय यस खेतीमा उल्लेख्य सङ्ख्यामा किसानको आकर्षण नबढे पनि गएको वर्षको तुलनामा यसवर्ष उत्पादित अलैँचीले दोब्बर मूल्य पाएकाले किसान हर्षित भएका उहाँले बताउनुभयो ।

यसवर्ष जिल्लामै सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुमा अलैँची बिक्रीबाट एक करोड रुपैयाँ आम्दानी भएको तामाङले बताउनुभयो । उहाँका अनुुसार जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन मर्स्याङ्दी गाउँपालिकामा भएको हो । यस गाउँपालिकाको लुँदीमा ५५ लाख, छिनखोलामा ५० लाख रुपैयाँ हाराहारी अलैँची बिक्रीबाट आम्दानी भएको उहाँले बताउनुभयो ।

सञ्जापुका किसान आशबहादुर गुरुङले आठ लाख, दिलमाया गुरुङले सात लाख, गम गुरुङले पाँच लाख र सोनिया विकले चार लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको अलैँची जोन लमजुङका अध्यक्ष सोमबहादुरले बताउनुभयो । यसवर्ष जिल्लाका किसानले प्रति केजी एक हजार दुई सय रुपैयाँ देखि एक हजार चार सय रुपैयाँसम्ममा अलैँची बेचेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया