निजी क्षेत्रको लगानीमा बनेकाे देशकै ठूलो सोलुखोलाकाे बिजुली उत्पादन ३८ प्रतिशतले घट्याे

 मंसिर १०, २०८० आइतबार १९:५०:३२ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको पाञ्चनमा सञ्चालित निजी क्षेत्रको लगानीमा बनेकाे देशकै ठूलो सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको बिजुली उत्पादन ३८ प्रतिशतले घटेको छ । साहस ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ८६ मेगावाटको आयोजनाले हिउँद लागेसँगै पानी कम हुँदा बिजुली उत्पादन घटाएको हो ।

सोलुखोलामा पर्याप्त पानी हुँदा ९० मेगावाटसम्म बिजुली उत्पादन गरेको यो आयोजनाले अहिले घटाएर ५५/६० मेगावाटमा झारेको कम्पनीका प्रशासन प्रमुख दिलबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदमा पानीको सतह घट्ने भएकाले बिजुली उत्पादन नियमित ओरालो लागेको हो । पानी घट्ने भएकाले हिउँदको समयमा आयोजनाको बिजुली उत्पादन ९० मेगावाटबाट घटेर ३० मेगावाटसम्म आइपुग्ने अनुमान छ । 

एनआईएमबी बैंकको झन्डै १३ अर्ब रुपैयाँकाे लगानीमा छ वर्ष लगाएर निर्माण सम्पन्न गरी गएकाे फागुन १७ गतेदेखि याे आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको थियो । आयोजनामा ३० दशमलव एक मेगावाटका तीन वटा जेनेरेटर रहेका छन् । सोलुदूधकुण्ड नगरपालिका–११ मा रहेको सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र एक हजार नाै सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङ दूधकोशी–३ मैकुबेसीमा खसालेर ८६ मेगावाट बिजुली उत्पादन गरिएको हो । विद्युत् गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रिड निर्माण गरी १३२ केभी प्रसारण लाइनमा जोडेको आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया