वडापालिकाकाे नमुना भवन, हेर्नेहरु दङ्गै पर्छन् !

 चैत २, २०७५ शनिबार १२:५७:३७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – शनिबार बिहान १० बजेदेखि नवनिर्मत वडापालिकाको भवनमा मानिसहरु धमाधम जम्मा हुँदै थिए । भिरालो जमिन खारेर समथल भूभागमा निर्माण गरिएको नयाँ वडापालिकाको नमुना भवनको आगनमा समूह पारेर स्थानीयहरु छलफल गर्दै थिए ।

अर्कोतिर भवनको आगनमा औपचारिक कार्यक्रमका लागि तयारी गरिँदै थियो । गाउँपालिकाका विभिन्न कार्यक्रममध्ये वडापालिकाको पहिलो नवनिर्मित भवन उद्घाटनको कार्यक्रम थियो ।

आकासमा बादल मडारिँदै थियो । मौसम चिसोे थियो । तर उपस्थित सबैको अनुहारमा भने खुशी चम्किरहेको देखिन्थ्यो ।  जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ मा जिल्लाकै गुणस्तरीय नमुना भवन निर्माण भएको छ । यो भवन जिल्लाकै नमूनाको रुपमा निर्माण भएपछि स्थानीयहरु र कार्यक्रममा उपस्थित अतिथिहरु दंग परेका परेका थिए ।

स्थानीय भद्रवीर सार्कीले गाउँपालिकामा यस्तो भवन आफूले यस अघि नदेखेको भन्दै यस्तो भवन बनेकोमा आफूलाई अच्चम लागेको बताउनुभयो । यस्तै वडा सचिव बिमला योगीले गाउँमा यस्तो भवनमा काम गर्न पाउँदा आफू निकै खुशी भएको बताउनुभयो ।

भवनको निर्माण नेपाल सरकारको समन्वयमा सञ्चालित सामुदायिक विकास कार्यक्रमको सहयोगमा भएको हो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष बिष्णु बुढाले संयुक्त रुपमा यस भवनको उद्घाटन गर्नुभयो ।

जब वडापालिकामा घन्कियो राष्ट्रियगान  

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले झण्डोत्तोलन गर्नुभयो । उद्घाटन भएपछि शहीदको सम्मानमा मौनधारण पनि भयो ।

त्यसपछि भने वडापालिकामा पहिलो पटक घन्कियाे राष्ट्रियगान । त्यहाँका स्थानीयलाई उत्साह थप्यो । बुढापाकाहरु भन्दै थिए, ‘आज त स्कुलमा जस्तै राष्ट्रियगान गायौँ ।’  

सामुदायिक विकास कार्यक्रमद्धारा रु १ करोड ९५ लाख ७८ हजार ४ सय ३ रुपैयाँ र गाउँपालिकाको तर्फबाट ३ लाख ७० हजार रुपैयाँको लागतमा यो भवन निर्माण गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले वडापालिकामा जिल्लाकै गुणस्तरीय भवन निर्माणले नागरिकलाई सेवा दिन सजिलो हुने बताउनुभयो । उहाँले अब स्थानीय तहमा सबै भवन यस्तै बन्नुपर्ने पनि सुझाउनुभयो ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले वडापालिकाले नमुना भवन निर्माण भएको र सहयोग पुर्याउने सबै निकायहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष योगीले भवन संरचना नमुना मात्रै नभै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह महत्वपूर्ण रहेको बताउनुभयो । उपाध्यक्ष बिष्णु बुढाले विभिन्न चुनौतीका बीच भवन निर्माण सम्भव भएको भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।  

वडापालिकाको भवन भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री छ । १४ कोठाको यस भवनमा आधुनिक रिसेप्सन, बैठक कक्ष, मैत्री शौचालय, अध्यक्ष कक्ष, सचिव कक्ष  देखि विभिन्न फाँटहरुमा भवन भित्रको संरचना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालले जानकारी दिनुभयो ।

तिला गाउँपालिकाले सबै वडा कार्यलयका भवनदेखि स्वास्थ्य, शिक्षा, कृषिका भवनहरु पनि यही शैलीमा निर्माण गर्ने भएको छ । यसका लागि आर्थिक भार केही बढ्ने भएकाले संघीय सरकार तथा दातृ निकायहरुसँग सहयोगको अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया