अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
जुम्ला - जुम्लाको सिञ्जामा रहेको भैरब माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सत्र शुरु भएको ३ महिना नाघिसक्दा पनि पाठ्यपुस्तक पाएका छैनन् ।
त्यहाँ अध्ययनरत २६ जना दृष्टिविहीन विद्यार्थीले अहिलेसम्म पनि ब्रेललिपिका पाठ्यपुस्तक पाउन नसक्दा अध्ययन अध्यापनमा कठिनाइ भएको स्रोत शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार पाठ्यपुस्तक छापिरहेको भन्ने खबर आएको छ ।
जुम्ला लगायतका हिमाली जिल्लाहरुमा शैक्षिक सत्र फागुनबाट सुरु हुने भए पनि ३ महिना बितिसक्दा पनि यस विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुले नयाँ पाठ्यपुस्तकको मुहार देख्न पाएका छैनन् । हरेक वर्ष अन्य पाठ्यपुस्तक समयमै आइपुग्छन् तर ब्रेल लिपिका भने समयमा पुर्याउन सरकारले प्रथामिकता दिएको देखिँदैन ।
देशभरका धेरै ठाउँ झैँ श्री भैरव मावि नराकोटमा दृष्टिविहीन विद्यार्थीहरुका लागि आवासीय अध्ययनको व्यवस्था स्रोत कक्षामार्फत नेपाल सरकारले सञ्चालन गरिरहेको छ । नेपाल सकारको सहयोगमा दृष्टिविहीन कल्याण संघले पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको शिक्षा विभाग समाहित शाखाका नारद धमलाले जानकारी दिनुभयो ।
याे वर्ष कर्मचारी समायोजनले काममा ढिलाइ भएकाले अब छाप्ने काम अन्तिम अवस्थामा रहेको र एक हप्तामा विद्यालयको आवश्यकता अनुसार प्याकिङ गरेर पठाउने उहाँले थप्नुभयो ।
तर, यहाँको भैरव माध्यामिक विद्यालयमा भने शैक्षिक सामग्री र पाठ्यपुस्तक हरेक बर्ष तीन–चार महिना ढिला पठाउँदा पढाई प्रभावित हुँदै आएको छ । यस बिषयमा सरकार र नेपाल नेत्रहीन संघ, दृष्टिविहीन कल्याण संघले पनि समयमै पाठ्यपुस्तक पुर्याउने पहल फागुन अगावै गर्न जरुरी देखिन्छ । गएकाे वर्ष पनि ६ महिनापछि पाठ्यपुस्तक पुगेको थियो ।
पाठ्यपुस्तक नपुग्दा अहिले यहाँका विद्यार्थीहरुलाई पुराना पाठ्यपुस्तक पढ्नुपर्ने बाध्यता छ । कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत २१ जना विद्यार्थीहरुले कक्षामा शिक्षकले पढाएको कुरा सुन्नुको विकल्प नरहेको गुनासो गरेका छन् । कक्षा ९ मा ५ जना विद्यार्थी अध्ययनरत भए पनि सबै जनालाई १ सेट पाठ्यपुस्तक पनि उपलब्ध नहुँदा आफूहरुलाई पढाउन असहज भएको शिक्षकहरु बताउँछन् । याे वर्ष यस विद्यालयबाट ५ जनाले एसर्ईई परीक्षा दिएका शिक्षक बुढाले बताउनुभयो । कक्षा ११ मा पनि २ जना अध्ययन गरिरहेका छन् ।
अहिले यहाँका विद्यार्थीहरु पुराना, पानीमा भिजेका, च्यातिएका, केही पाठहरु नै उप्केर गएका पाठ्यपुस्तक पढ्न बाध्य भएको गुनासो गरेका छन् । उ
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।