गौरा पर्वमा प्रधानमन्त्रीको शुभकामना सन्देश : पर्वले आपसी सद्भावलाई मजबुत बनाउँछ

 भदौ ६, २०७६ शुक्रबार ८:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताउनुभएको छ । गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने यस पर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने बताउनुभयो । 

उहाँले सन्देशमा धार्मिक र सांस्कृतिक महत्वका साथ गौरा पर्व मनाउने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुस्वाथ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरू निधि रहेको बताउनुभयो ।

‘हाम्रो देशको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई हामीले सधैँ एकताबद्ध भएर परास्त गर्दै आएका छौँ’, उहाँको सन्देशमा भनिएको छ, ‘हिमाल, पहाड र तराईका नेपालीहरूबीचको आपसी एकता झनझन प्रगाढ हुँदै गएको छ ।’

हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण रहेको उल्लेख गर्दै उहाँले सद्भाव र एकताको प्रवर्द्धन गर्ने हाम्रा अनेकौँ पर्व र सांस्कृतिक अवसरमध्येको गौरा पर्वले समस्त नेपाली दिदी बहिनी दाजुभाइबीचको आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास गरेका बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया