बैंकर्स संघ बैठक : भ्रम फैलाउने मिडियाविरुद्ध प्रेस काउन्सिलसँग छलफल गर्ने, बैंकलाई पनि ब्रोकरेज लाइसेन्स दिन माग

 भदौ ११, २०७६ बुधबार १३:२५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रको विषयमा पछिल्लो समय नागरिकमा भ्रम छर्ने सामग्री प्रस्तुत भैरहेको भन्दै आपत्ती जनाएको छ । बुधबार बसेको संघको पूर्ण बैठकले भनेको छ, ‘विगत केही समयदेखि बैकिङ्ग क्षेत्रको बारेमा केहि मिडियाहरुले समग्र बैंकिङ्ग क्षेत्रकै जनमानसमा नकरात्मक छवि फैलाउने, बैंक तथा बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने गरी कपोलकल्पित समाचार प्रकाशन गरेकोमा यस संघको ध्यानाकर्षण भएको छ ।’

संघले प्रेस काउन्सिल नेपालसँग समन्वय गरी  कपोकल्पित समाचारहरु प्रकाशनमा रोक/कारवाही गर्न के–कसो गर्न सकिन्छ भन्ने बारे छलफल गर्ने निर्णय पनि गरेको छ । 

ब्रोकरेज लाइसेन्सबाट पछि नहट्न माग

बैंकहरुलाई शेयर ब्रोकरेजको लाइसेन्स दिने प्रक्रिया अचानक रोकिएकोमा पनि बैंकर्स संघले आपत्ती जनाएको छ । नेपाल स्टक एक्सचेञ्जले पहिले ब्रोकरेज लाइसेन्सको लागि निवेदन माग गर्ने तर निवेदन दिइसकेपछि भने प्रक्रिया स्थगन गरेको संघको आरोप छ ।

‘नेपाल स्टक एक्सचेन्जले बैंकहरुलाई ब्रोकरेज लाइसेन्स जारी गर्न सूचना प्रकाशन गरे पश्चात बैंकहरुले सबै प्रक्रिया अवलम्बन गरी सो सेवा प्रदान गर्न आन्तरिक तयारीसमेत सबै पूरा गरेको अवस्थामा अकस्मात नेपाल स्टक एक्सचेञ्जले ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगनगरेकाबारे यस संघको ध्यानाकर्षण भएको छ ।’

संघको पूर्ण बैठकले नेपाल स्टक एक्सचेन्जलाई पक्रियाया पुर्‍याएर निवेदन दिएका बैंकहरुलाई तुरुन्तै ब्रोकरेज लाइसेन्स प्रदान गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै नेपाल राष्ट्र बैंकबाट अहिले जारी गरिएको परिपत्रमार्फत औसत ब्याजदर अन्तर गणना गर्ने विधिलगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ्ग क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका बारेमा संघले नेपाल राष्ट्र बैंकलाई लिखित रुपमा जानकारी गराएको र यो विषयका प्रावधान संशोधनको लागि फेरि राष्ट्र बैंकलाई अनुरोध गर्ने पनि बैंकर्स संघले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया