कुलमानको ध्यान अब स्मार्ट मिटरमा, आउँदो पुसभित्र ९० हजार घरमा नयाँ मिटर

 असोज १४, २०७६ मंगलबार १७:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण सुरु गरेको छ ।

प्राधिकरणले काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करिब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्दै छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकांक्षी योजनाका रुपमा अगाडि बढाउनुभएको हो ।

स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामाजस्तै स्वचालित बिलिङ लागू हुने छ  । जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ ।

यसबाट वितरण सेवालाई आधुनिकीकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने छ ।

ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताउनुभयो । उनले डाटा संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराइदिन  आग्रहसमेत गर्नुभयो ।

नेपाल सरकारको लगानी र एसियाली विकास बैक एडीबीको सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई  काठमाण्डौ उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाइएको हो । स्मार्ट मिटर जडानलाई देशभर नै विस्तार गर्ने  प्राधिकरणको योजना छ ।

रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आउँदो वर्षको पुस भित्रमा सक्ने लक्ष्य राखिएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया