आज देशका धेरै ठाउँमा पानी पर्ने तथा नदीहरुमा बाढी आउने सम्भावना: सतर्क रहन आग्रह

 असोज २१, २०७६ मंगलबार १२:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँको टीकाको दिन आज देशका धेरै ठाउँको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको र केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

पानी पर्ने भएकाले दशैँको टीका लगाउन जाँदा सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो । यसैबीच आज र भोलि केही नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काइ र कमला नदीमा आज र भोलि पानीको बहाव बढ्ने महाशाखाको भनाइ छ । यस्तै, इलाम, झापा, मोरङ सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, सिन्धुपाल्चोक धादिङ, गोरखा, कास्की तनहुँ र स्याङ्जालगायत ठाउँका नदी र खोलामा पनि बाढी आउने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया