व्यापार व्यवसायको शैली परिवर्तन गरौँ, अहिलेको सङ्कटलाई अवसरमा बदलौँ

 चैत १०, २०७६ सोमबार १०:५१:४३ | नरबहादुर थापा

काठमाण्डौ - कोरोना भाइरसको जोखिम बढेपछि व्यापार व्यवसाय ठप्प छ । गुजारा कसरी चलाउने भन्ने चिन्ता बढेको छ । यो मुनाफा बढाउने र बढी कमाइ गर्ने समय होइन । संकटलाई अवसरको रुपमा बदल्ने बेला हो ।

फुटपाथमा काम गर्ने हुन् वा अन्य स्तरमा काम गर्ने हुन्, जे उपलब्ध हुन्छ र जे काम गर्दा आर्थिक रुपमा बाँच्न सकिन्छ ती कामहरु गर्नुपर्ने हुन्छ ।

यद्यपि केही कामहरु ठूलो स्तरको मुनाफा कमाउने नहुन पनि सक्छ । त्यसैले पेसा त्यही प्रकृतिको छ भने अलिकति फरक गरेर, हिजोसम्म नगरेका कामहरु गरेर त्यही प्रकृतिका छन् भने त्यस्ता अवसर लिनुपर्छ । यसमा प्रतिष्ठाको कुरा आउनु हुँदैन । जुनसुकै काम गर्न पनि तयार हुनुपर्छ ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्रलाई कस्तो प्रभाव पारिरहेको छ, पर्न सक्छ र समाजको विभिन्न तप्कालाई के कस्तो असर परिरहेको छ भनेर नेपाल सरकार र राष्ट्र बैँकले पनि अध्ययन गरिरहेका छन् र सरकारले भने राहतका केही कार्यक्रम ल्याउनुपर्ने हुन्छ।

अब हामीहरुको ध्यान व्यापार होइन, उत्पादनतिर लाग्नुपर्छ । कतिपय साना व्यवसायीहरु, सडकमा काम गरिरहेका व्यवसायीहरु, काठमाण्डौभन्दा बाहिरबाट काम गर्न आइरहेका व्यवसायीहरु छन् । यदि काठमाण्डौमा व्यवसाय धान्न गाह्रो भएको छ भने जुन जुन गाउँठाउँबाट आइरहेका छन् त्यही ठाउँमा गएर उत्पादनमा सक्रियता बढाउनुपर्छ । अहिले देशको खाँचो पनि त्यही हो । अहिले नेपाललाई र व्यक्तिलाई पनि एउटा अवसर प्राप्त भएको छ ।

बाँझो खेतमा गएर अन्न फलाउनु एउटा राम्रो उपाय हुनसक्छ । अर्को गाँउघरमा तीन तहको सरकार बनेका छन् । सिंहदरबारमा सरकार छ, सात प्रदेशमा सरकार छन् र ७ सय ५३ वटा पालिकाहरु छन् ।

पालिकाहरुले विविध किसिमका विकास निर्माणका कार्यक्रम सञ्चालन गरिरहेको अवस्था पनि छ । कतिपय पालिकामा जनशक्तिको अभावले तर्जुमा गरेका कार्यक्रमहरु कार्यान्वयनमा आउन सकिरहेका छैनन् । अहिले पालिकाले पनि विभिन्न किसिमको क्षेत्रमा अनुदानको व्यवस्था गरेको छ र कृषि क्षेत्रमा व्यापक अनुदान दिइरहेको छ ।

ठूला व्यवसायीसँग पैसा छ । तर व्यापारमा लगानी गर्न नसक्ने अवस्था आयो भने बैंक तथा बित्तीय संस्थामा जम्मा गर्नुपर्ने हुन्छ । यो अवस्थामा सेयर बजारमा, बोन मार्केटमा, व्यवसायमा राम्रो छैन भने त्यसै बचेको पैसालाई बैंक तथा बित्तीय संस्थामा जम्मा गरेर अरुलाई अवसर दिनुपर्छ जस्तो मलाई लाग्छ ।

यस्तो अवस्थामा व्यवसायीले प्रविधिमा पनि लगानी गर्ने आँट गर्नुपर्ने हुन्छ । २०–३० वर्ष व्यापार गरिरहेकालाई यो धक्काले असर पार्यो भने व्यापार गर्ने प्रविधिमा लगानी गर्न सकिन्छ र यो राम्रो अवसर पनि हो । ताकि यसले आउँदा १०–१५ वर्षमा अर्कै किसिमले व्यवसायलाई अगाडि बढाउने अवसर पनि मिल्छ ।

कोरोनाको कुराले गर्दा धेरै जना रेस्टुँरामा खान नजान सक्छन्, त्यस्तो अवस्थामा होटल व्यवसाय गरिरहेकाले होम डेलीभरीलाई धेरैलाई रोजगारी दिएर सञ्चालन गर्न सकिन्छ । विज्ञापन गर्न सक्छन् र हाइजिनिक बनाएर सेवा प्रदान गर्ने विधिमा परिवर्तन गरेर मागकर्ताको विश्वास जित्ने र डेलिभरी गर्ने काम गर्न सकिन्छ । व्यापार व्यवसायको शैली नै परिवर्तन गरेर यसलाई अवसरको रुपमा प्रयोग गर्न सकिन्छ ।

फरक ढंगले त्योभन्दा पनि धेरै कमाउन सकिन्छ । मध्यम आय भएका व्यक्तिले सुरक्षाका उपायहरु पहिले नै अवलम्बन गरेका हुन्छन् र व्यवस्थित रुपमा बचत, खर्च र लगानी गरिरेहेका हुन्छन् । मनोरञ्जनमा कम खर्च गरेर आपत्कालीन अवस्थामा कसरी सामान्य रुपमा जीवन चलाउन सकिन्छ भन्ने बारेमा सोचेर अगाडि बढ्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा धेरै खर्च नगरेर बचेको पैसा र आम्दानीहरु बैँक र बित्तीय संस्थामा जम्मा गर्नपर्छ ताकी गाह्रोसाह्रो पर्दा ती पैसाको प्रयोग गर्न सकियोस् र अरु नयाँ विचार भएका व्यक्तिलाई उद्योग व्यवसाय गर्न सहयोगी भूमिका पनि खेल्न सकियोस् । यस्तै आफ्नो हित मात्र नभएर समग्र राष्ट्रको अर्थतन्त्रलाई दृष्टिगत गरेर सारा नेपालीले यस प्रकारको धक्कालाई व्यहोर्ने हो । 

जसरी नेपालीले २०७२ सालको भूकम्प जाँदा र भारतले नाकाबन्दी लगाउँदा सामना गर्यौं, भारतले बाध्य भएर नाका खोल्नुप¥यो, त्यस प्रकारका उपायहरु नेपाली नागरिकले फेरि एकपटक अपनाउनुपर्छ भन्ने सुझाव दिन चाहान्छु ।

(नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ५, २०८१

नरबहादुर थापा

थापा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत हुनुहुन्छ

तपाईको प्रतिक्रिया