भारतबाट आएकालाई क्वरेण्टीनमा राख्दै पालिका

 जेठ ९, २०७७ शुक्रबार २१:११:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी – राेजगारीकाे सिलसिलामा भारतका विभिन्न शहर गएका डोटेलीहरु अहिले जिल्ला फर्किएका छन् । उनीहरुलाई पालिकाले क्वरेण्टीनमा राख्न थालेका छन् ।  

उनीहरुलाई क्वरेण्टीनमा राखिए पनि कोरोना भाइरसको जाँच गर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट नभएका कारण उनीहरुकाे परीक्षण हुन सकेकाे छैन । जिल्लामा शुक्रबारसम्म पाँच सयभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जसमा दुई सय जना केआईसिंह गाउँपालिकाका मात्रै रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डा चौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई बिहीबार जिल्लाका नौ वटै पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर जिल्लामा ल्याएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतमा रहेका जिल्लाका नागरिक विभिन्न नाकामा आइपुगेपछि हामीले आफै गएर उनीहरुको उद्धार गरेर क्वरेण्टीनमा राखेका छौँ, कोरोना सङ्क्रमण फैलिन नदिन सम्पूर्ण सावधानी अपनाइएको छ ।’

भारतबाट आएका नागरिकलाई विना जाँच क्वरेण्टीनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्छ तर विना जाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।’

जिल्लाका पालिकाले निर्माण गरेका क्वरेण्टीनहरु विश्व स्वास्थ्य सङ्गठनकाे मान्यता अनुसार नभएकाे तथा क्वरेण्टीनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्रीसमेत नभएकोले समस्या हुने स्थिति देखिएको जोरायल गाउँपालिका ५ का सर्वजित देउवाले बताउनुभयो। 

जिल्ला अस्पताल डोटीमा कोरोना भाइरस (कोभिड-१९) को जाँच गर्ने आरडीटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याएका नागरिकलाई विना जाँच क्वरेण्टीनमा राखिएको दिपायल सिलगढी नगरपालिका २ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । 

उहाँको वडाका मात्रै ३० जना नागरिक भारतका विभिन्न शहरबाट काम गरेर घर फर्किएका छन् । भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वरेण्टीनमा राखिएकाहरु भने निकै खुसी भएका छन् । 

भारतमा कष्टपूर्ण जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन सकिने दिल्पेश्वर माविको क्वरेण्टीनमा राखिएका दिपायल सिलगढी नगरपालिका ३ बाँफीका नरेन्द्र साउदले बताउनुभयो । कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नेपालीहरुलाई दुःख दिइने र गाली गर्ने परिपाटी बढेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया