डोटीमा प्राविधिक मूल्यांकनपछि मात्र सडक निर्माण गरिने

 कात्तिक ९, २०७५ शुक्रबार १९:४२:३५ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकाले प्राविधिक मूल्यांकन पछि मात्र डोटीमा सडक निमार्ण गर्ने निर्णय गरेको छ ।

डोजर अपरेटर नै इञ्जिनियर भएर उनीहरुकै सनकका भरमा सडक निर्माण गर्दा दुर्घटना बढेको भन्दै आलोचना हुन थालेपछि दिपायल सिलगढी नगरपालिकाले यस्तो निर्णय लिएको हो ।

प्राविधिक मूल्यांकन नगरेरै सडक निर्माण गर्ने परम्पराको अन्त्य गर्ने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक मूल्यांकन बिना काटिएका सडकमा बढी दुर्घटना भयो भन्ने गुनासो आयो, अब प्राविधिक मूल्यांकन बिनाका सडक काट्ने काम रोक्छु ।’

सडकको गुणस्तरभन्दा पनि उभोक्ता समितिले भने अनुसारका सडक निर्माण गर्दा गुणस्तर कायम हुन नसकेकाले अनिवार्य सर्वे गर्नु परेको नगरप्रमुख मलासीको भनाई छ । पछिल्लो समय डोटी जिल्ला भरीमा प्राविधिक मूल्यांकन बिना ग्रामिण सडक निर्माणको काम धामधम भइरहेको छ ।

सडक बिना अध्ययन निर्माण हुँदा कहिले बजेटको अभाव हुने, कहिले खेती योग्य जमिन नष्ट हुने गरेको स्थानीयको आरोप छ । सडक निर्माण बाढी पहिरो र भू–क्षयलाई समेत बढबा दिएकोले सबै जनप्रतिनिधिहरूले डीपीआर र प्राविधिक अध्ययनपछि मात्र भौतिक निर्माणको कार्य थालनी गर्ने सहमति गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले बताउनुभयो ।

नगरपालिकाले ठूला योजनाको अनिवार्य डीपीआर गर्ने र साना योजनाको प्राविधिक मूल्यांकन अनिवार्य गर्ने निर्णय गरेको हो । प्राविधिक मूल्यांकनपछि मात्र कामका लागि उभोक्ता समितिसँग कामको सम्झौता गर्ने नगरपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया