आँट छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस् : सांसद देव

 भदौ ६, २०७६ शुक्रबार १४:२६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी देश भारतको कश्मीरको समस्यादेखि  बाजुरालगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । छिमेकी देशहरुले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने भन्दै उहाँले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नुभयाे, ‘नजिकबाट नियाल्दै छौँ हामी भनेर परराष्ट्र मन्त्रीज्यूले भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ ।  कहिलेसम्म नियालिराख्ने ? आँट छ भने यो सरकारले बोलोस् । के बोल्छ बोलोस् अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दै छ भन्ने सन्देश गएको उल्लेख गर्दे उहाँले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिनुभयो । भारतसँगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाउनुभयो । १९ सय ५० को सन्धिका बारेमामा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘ब्याक टु मंगलमान भयो । घुमिफिरी रुम्जाटार भयो ।’

२०४८ सालमै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने तर्क उहाँले गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया