गेर्खु खोलाको डाइभर्सन बाढीले बगायो, पासाङ ल्हामू राजमार्ग पुनः अवरुद्ध

 भदौ ७, २०७६ शनिबार ८:२३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – शुक्रबार राति परेको पानीसँगै आएको बाढीले पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबार राति आएको बाढीले    पासाङ ल्हामू राजमार्गकोे त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खु खोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो । तीन दिनअघि बगाएपछि पुनः बनाएको डाइभर्सन शुक्रबार राति फेरि बगाएको हो ।

विदुर नगरपालिका वडा नं. १ र १० को सीमामा रहेको गेर्खु खोलाले गएको वर्षको बर्खामा पुल भत्काएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सन यो वर्ष दुई पटक बगाइसकेको छ ।

अस्थायी रुपमा खोलामा ह्यूम पाइप हालेर सडक सञ्चालन गर्ने तयारी भए पनि खोलामा पानीको बहाव ठूलो भएकोले काम सुरु गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

गल्छी–त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिलेको समस्या आएको हो । एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा भएको छैन ।

डाइभर्सन बगाएको कारण नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली–तुप्चे–पहिलेबेसी सडकको तुप्चेको अधेरी खोलामा आएको बाढीले सडक बगाएको कारण सवारी साधनहरु रोकिएका  छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया